Friday, March 31, 2017

छोरासँगको भेट - घनश्याम ढकाल


(२०१० – २०६८)
आधुनिक नेपाली कथाको समसामयिक धाराको समयमा समाजवादी यथार्थवादी/प्रगतिवादी धारा/प्रवृत्तिका कथालेखनमा क्रियाशील कथाकार घनश्याम ढकालले कविता, समालोचना, उपन्यास, निबन्ध आदि विधामा पनि कलम चलाएका छन् तापनि उनको मूल लेखनविधा कथा हो । २०३९ को ‘हिमाली आवाज’ पत्रिकामा ‘वारूणयन्त्र’ शीर्षकको कथा प्रकाशित गरेर यस क्षेत्रमा कलम चलाउन थालेका ढकालको कथायात्राले तिन दशकभन्दा बढीको समय पूरा गरेको छ र यस अवधिमा उनका निम्नलिखित कथाकृतिहरू प्रकाशित छन्  :

(१) भरिया र यात्री (२०४६)
(२) सहिद मानचित्रमा नपरेको सहिद (२०४८)
(३) समर्पणको बाटोमा (२०५१)
(४) सहिदको सालिक (२०६६)

यी कथाकृति र फुटकर रूपमा प्रकाशित कथाकृतिका आधारमा उनका कथामा पाइने प्रमुख कथाप्रवृत्तिहरू यसप्रकार छन् :
(१) सामाजिक यथार्थको प्रकटीकरण, समाजमा व्याप्त अनाचार, भ्रष्टाचार, आर्थिक सामाजिक शोषण एवम् सामन्ती प्रवृत्तिको विरोध, 
(२) लैङ्गिक विभेद, चेलीबेटी बेचबिखन, वर्गीय असमानता, राजनीतिक प्रशासनिक विकृति तथा विसङ्गतिप्रति विमति, 
(३) माओवादी सशस्त्र द्वन्द्वको समर्थन र प्राप्ति एवम् परिवेशको चित्रण र पञ्चायती कालदेखि गणतन्त्रकालसम्मका राजनीतिक सामाजिक विकृतिको चित्रण, 
(४) माक्र्सवादी वैचारिक दर्शनका केन्द्रीयतामा रहेर कथा लेख्ने प्रवृत्ति, वर्गद्वन्द्वको चित्रण, प्रगतिवादी चेतना र समाजका विपन्न वर्गप्रतिको सहानुभूति, 
(५) सरल सहज भाषाको प्रयोग, वर्णनात्मक शैली र रैखिक ढाँचाको अवलम्बन एवम् कथाका रचनाविधानको समन्वित विन्यास आदि । 

--------------------------------------


छोरासँगको भेट 
- घनश्याम ढकाल

भविसराले गह्रौँ मनले हिसाब गरी । अविरल घर नआएको पनि पूरा एक वर्ष भइसकेछ । सामान्य घटना हुन्थ्यो भने उहिल्यै विस्मृतिको गर्भमा बिलाइसक्ने थियो होला तर उसको जीवनमा यो असामान्य मोडको आरम्भ थियो । पुत्र र पतिको मृत्यु वियोगको घाउ निको नभए पनि कालक्रमले पुरानो हुँदै गएको थियो । कुनै घटना यस्तो पनि हुँदो रहेछ, जुन पुरानो हुनुसट्टा प्रतिदिन नयाँ हुँदै जाँदोरहेछ । भविसरालाई यस्तै भइरहेको थियो । बिर्सन असम्भव थियो । त्यसैले केवल सम्झने सम्झनाका तरेलीहरूको रास लगाएकी छे उसले । जिन्दगीको यस्तो अवस्थामा पु¥याएको थियो, जहाँ उभिएर उसले युद्धरत पुत्रको प्रतीक्षा गर्दै थिई । युद्धसँग जोडिएको अविरलको पुनरागमन त्यति सहज र सरल भने थिएन ।
छ महिनाअगाडि आमाछोराको भेट भएको थियो बिच बाटोमा । देखादेख भएको मात्र भने हुन्थ्यो । लामो बातचित केही हुन पाएन । सुखदुःखका गन्थन र घरव्यवहारका कुराहरू त्यत्तिकै थाती रहे ।
‘अलि फुर्सद मिलाएर बसौँला आमा ! म फेरि खबर गर्छु । अहिले हतार छ, साथीहरू हिँड्न थाले’ – अविरलले बिदा माग्दै भनेथ्यो ।
‘हुन्छ त नि जा, छिट्टै खबर गरेस्’ आफ्ना आकाङ्क्षाहरूलाई छातीभित्रै दबाएर उसले सहमति दिएकी थिई । जति पछि भयो, त्यो भेट उसलाई सपना हो कि विपनाजस्तो लाग्न थालेको थियो ।
‘म सन्चै छु, नआत्तिनु’, अबिरलले महिनापन्ध्र दिनमा यस्तै खाले समाचार र हाते चिठी पठाउँथ्यो, त्यो पनि मौका पर्दा मात्र । त्यसैमार्फत् भविसराले छोरासँग साक्षात्कार गर्थी । पुलिसहरू कतिपटक घर आए, कसरी छापा मारे, के – के सोधे, के भनेर धम्क्याए र सुराकीहरूले कसरी चियोचर्चो गर्ने गरेका छन् जस्ता यावत् खबरहरू दाजुलाई पठाउन अनुपाले भुल्दैनथी ।
‘मैले पनि महिला सङ्घमा काम गर्न थालेकी छु, पछिल्लो पटक उसले गर्वसाथ चिठी लेखेकी थिई । ‘शत्रुको हातमा पर्नुभन्दा ...’ गत वर्ष भविसराले छोरालाई वेदनायुक्त बिदाइ गरेकी थिई । उसले धेरैभन्दा धेरै कठिन परिस्थितिसँग सम्झौता गरेकी हो अथवा त्यसलाई पार गरेकी हो तर आफ्नै घरबाट निर्वासित हुनुपर्ने जिन्दगीको यो परिस्थितिलाई पचाउन भने सुरूसुरूमा निकै कठिन भएजस्तो देखिएको थियो । चारैतिरबाट अन्त्यहीन पीडाले यसरी थिचे कि कति दिनसम्म त ऊ बिरामीजस्तै देखिएकी थिई ।
‘अविरल सन्चै त छ ? देखिँदैन नि आजभोलि । कि फेरि जेल प¥यो र हो ?’ कतिपयले यस्तो अवस्था देखेर सोध्न थाल्थे ।
‘हजुर सन्चै छ, दुईचार दिनका लागि बाहिर गएको छ ।’ भविसराले हाँस्ने चेष्टा गर्दै अविरल जेलमा छैन भन्ने सङ्केत गर्थी । सुराकीका आँखा छलेर पार्टी कार्यकर्ताहरू घर आउँथे । भविसराका लागि यो सुखद क्षण हुन्थ्यो । अनुपा रमाउँथी ।
‘बाबुहरू आउँदै गर्नुपर्छ । किन – किन माया लाग्छ । कोही नआउँदा शून्य – शून्य जस्तो के – के नपुगेजस्तो लागिरहन्छ । अरू त मैले के गर्न सक्छु र ? एक दुई छाक रूखोसुखो भए पनि ... ।’ एकपटक उनीहरू आउँदा उसले आफ्नो मनको कुरो राखी ।
‘सबैभन्दा मूल्यवान् वस्तु माया नै हो । त्यति भए पुगिहाल्छ । लाख हुन्छ । हामी संसार जित्न सक्छौँ । मेरी आमा पनि तपाईंकै उमरेकी हुनुहुन्छ । यहाँ आउँदा मलाई कसो – कसो आमाको झझल्को मेटिएजस्तो हुन्छ ।’ एउटा लाम्चो नाक र कल्साउँदो अनुहार भएको ठिटोले भन्यो । ऊ खुला र फरासिलो थियो । उसले आफ्नो नाम देवेन्द्र भनेको थियो ।
‘हो त नि यो पनि आफ्नो घर हैन ? कति मीठो कुरा गर्छ ।’ भविसराको हृदय माया र करूणाले द्रवित भयो । नचाहँदा नचाहँदै पनि आँखाबाट ताता आँसुको थोपा गुडुल्किए ।
‘न्यायपूर्ण युद्धको अग्रमोर्चामा आफ्ना छोरालाई पठाउने आमाले यसरी आँसु झार्न सुहाउँदैन ।’  – देवेन्द्रले भविसरालाई कठोर बन्न प्रेरित गर्दै अरू अगाडि भन्न थाल्यो, – ‘हाम्रो जीवन तरल अवस्थामा सतहमा तैरिरहेको छ । कुनै पनि बेला यो कारागारमा थुनिन सक्छ, बेपत्ता बनाइन सक्छ र मृत्युमा परिणत हुन सक्छ ।’
‘के – सम्झन पुगेछु, यसै आँसु झरेछन्’ भविसराले भनी । उसको मुटु जोडले हल्लिरहेको थियो । बलपूर्वक आफूलाई धान्दै उसले भन्न थाली, ‘मर्न तिमीहरूलाई कति सजिलो हुन्छ कुन्नि ? तर एउटाको ज्यान खति हुँदा त्यसले कतिको मुटु चुँडालेर लैजान्छ भन्ने कुराचाहिँ बिर्सन्छौँ ।’ उसले सारीको आँचलले आँसु पुछी ।
‘म पनि अनावश्यक बलिदानको विरोधी छु’ – देवेन्द्रले भन्यो ।
‘तिमीलाई त थाहा होला नि कसरी त्यसो भएको हो ?’  – भविसराले भर्खरैको छापामार र पुलिस भिडन्त भएको घटनालाई सङ्केत गर्दै भनी । उसले सुनेका सबै कुरा यसरी सोध्ने गर्छे । छापामारहरूले पुलिससँगको भिडन्त, आक्रमण र घेरा तोडेर उम्कन सफल भएका साहसिक कथाहरू सुनाउँदा कहिलेकाहीँ उसलाई दन्त्यकथा सुनेझैँ लाग्थ्यो । जब यस्ता कथाहरू आफ्नै सेरोफेरोमा निर्माण भएको उसले देख्थी वा अनुभव गर्थी तब उसलाई विश्वास लाग्थ्यो । छापामारहरूको सफलतामा ऊ गर्वले फुल्दथी र तिनीहरूको गिरफ्तारी वा दर्दनाक हत्यामा उसको छाती छिया – छिया हुन्थ्यो र बेचैनीले छट्पटिन्थी ।
‘म त्यहीँ थिएँ त्यति बेला’ – देवेन्द्रले भन्यो । ‘कसरी बाँच्यौ त ?’ भविसराले आश्चर्य व्यक्त गरी ।
एकदिनको कुरा हो, ‘देवेन्द्रले भन्दै भयो, ‘दश जनाको छापामार टिम मिर्मिरे उज्यालोमा एउटा सानो गाउँमा आइपुग्यो । त्यहाँ दसबाह्रवटा खरले छाएका घरहरू मात्र थिए । परिचित गाउँ थियो त्यो । सबै जनवर्गका थिए । खान र बस्नका लागि एउटा घरमा सेल्टर लियौँ । अघिल्लो दिनदेखि नै खान मेसो परेको थिएन । रातभरिको हिँडाइ, भोक र निदले सबैलाई लस्त बनाएको थियो । साथीहरू कोही खाने बन्दोबस्त मिलाउन थाले भने कोही बन्दुक सफा गर्दै थिए । धन्सारको माथिल्लो तलामा दुईजना साथी बन्दुक भिरेकै अवस्थामा पल्टेर घुरिरहेका थिए । म भने बन्दुक नजिकै ठड्याई भित्तामा अडेस लगाएर बसेको थिएँ, त्यत्तिकै झकाएँछु । गोलीको आवाजले अचानक व्युँझन पुगेँ, साथीहरू घुरिरहेकै थिए । जोडले घच्घचाएर व्युँझाएँ र तल झरेँ । आँगनमा साथी ढलिसक्नु भएछ । गोलीका छर्राहरू छुटिरहेका थिए, मैले भित्ताको आड लिएँ । ‘ला ! बन्दुक त माथि नै छोडेछु’ बल्ल होस आयो । फेरि माथि जान ढिलो भइसकेको थियो । कम्मरमा खुकुरी रहेछ । ‘घेरा तोड’ – कमान्डरको आदेश आयो । गोली हानाहान, कति भयानक दुःख, साहस र स्वविवेकको सम्मिश्रणको क्षण थियो त्यो । हामी चारैतिरबाट घेरिएका थियौँ । शत्रुको कमजोर घेरापट्टि ग्रिनेड प्रहार भयो । धर्ती र आकाश हल्लाउने विस्फोटनको आवाज आयो । एउटा ग्रिनेड साथीहरूका अगाडि आएर बज्रियो । म संयोगवश भुइँमा ढलेँ र पल्टँदै तल झर्न थालेँ । कति बर्लङ्ग लगाएँ हुँला त्यसको सम्झना छैन, गोलीको मधुरो आवाज आउँदै थियो । मैले एकपटक आफूलाई रोक्न खोजेँ, भिरालो हुनाले सकिनँ, अग्लो कान्लोबाट एक्कासी तल खसेँ । चोटले गर्दा बेहोस हुन पुगेँछु । होसमा फर्किँदा सिस्नोको झाङमा परेको रहेछु, जीउ थिल्थिलिएर लाटो भइसकेको हुनाले सिस्नो बिझेको पत्तो नै भएन । कुइना र घुँडाबाट रगतका धारा बगिरहेका थिए । ‘कतै गोली लाग्यो कि ।’ मैले छामेँ । लागेको रहेनछ । त्यसपछि ‘म ज्यूँदै छु, जस्तो लाग्थो । तिर्खाले घाँटी सुक्यो । अलि पर खोल्सो जस्तो देखियो । घिसिँ्रदै र चारखुट्टा टेक्दै त्यहाँसम्म पुगेँ । पानी रहेछ । पानी पिएपछि शरीरमा प्राणसञ्चार भयो । नजिकै चाक्लो ढुङ्गो थियो, त्यसैमा लम्पसार परेँ । च्यातिएर धुजाधुजा भएको कपडामा माटो र रगत लत्पत्तिएको थियो । केही बेरपछि उठेर हातगोडा धोएँ, कपडा पखालेँ । भोकले पेट बाउँठियो । फेरि पानी पिएँ । त्यसपछि विभिन्न ठाउँमा लुक्दै, छिप्दै साँझमा मात्र सेल्टरमा पुग्न सकेँ । घेरा तोड्न सफल साथीहरू दिउँसै पुगिसक्नु भएको रहेछ । हाम्रा चारजना साथीहरूलाई कब्जामा लिइसकेपछि पुलिसहरूले हत्या गरेछन् । दुईजना पुलिस मारिएछन् ।
‘बाबै नि गोली लागेको भए ।...’ भविसराले लामो सास तान्दै भनी – ‘अलि पहिले थाहा पाएको भए सबै फुत्कन सक्नेथे होलान् । कति दुःख लाग्दो कुरा । घर परिवारले कसरी मन बुझाएका होलान् ?’
‘कसरी आएछन् त पुलिसहरू ?’ अनुपाले एक्कासी प्रश्न गरी ।
‘एउटा नराधमलाई किन्न सफल भएछन् दुस्मनहरू । त्यसैको सुराकीमा आएछन् ।’
‘कति दुष्ट रहेछ ।’
‘पैसामा बिकेको नरपशुलाई पछि छापामार सेनाले सफाया गरिदिए ।’ देवेन्द्रले उठ्दै भन्यो – ‘ म बेला मौकामा आइरहन्छु ।’
‘कति मस्त छ यो केटो । भर्खरै के हुने हो थाहा छैन तर पनि ढुक्कछ, आनन्द र हाँसीखुसी छ । अविरल पनि यस्तै होला कि ?’ ऊ गइसकेपछि भविसराले आफैँसँग प्रश्न गरी । सहिद परिवार र बन्दीका आफन्तहरूसँग भेट हुन थालेपछि उसको मन हुलुङ्गो हुन थाल्यो । खुला र निश्छल हृदयले उनीहरू घन्टौँ कुराकानी गर्थे तर पनि अघाउँदैनथे । त्यहाँ कुनै छलछाम, घमन्ड वा फुर्इँ थिएन । तिनीहरू एउटै राक्षसको आक्रमणबाट आक्रान्त थिए । त्यसबाट मुक्त हुने उपाय थाहा पाउन ती सबै उत्सुक थिए । मानौँ यो भेटघाट दुःख बिसाउने र भविष्यको बाटो खोज्ने साझा चौतारी भयो । भविसरालाई माया र प्रेमको छुट्टै संसारमा प्रवेश गरेजस्तै लागेको थियो ।
त्यहाँ इष्टमित्रबारे छलफल चल्दै थियो । ‘आपतका बेला दाजुभाइको नातोभन्दा पार्टीका नातो नजिकको हुँदोरहेछ ।’ भविसराले आफ्नो अनुभव बताउँदै भनी ।
‘कति मनैका कुरा गर्नु भयो दिदी तपाईंले । सौगात मारिँदा सारा संसारले दुःख मनाउ ग¥यो तर मेरो सहोदर जेठाजुले कठैसम्म भनेनन् । मन निर्दयी भएपछि वचन पनि निस्कँदो रहेनछ ।’ बर्बरी आँसु झार्दै सौगातकी आमाले भनी । सबैका आँखा रसाए । कमान्डोबाट सौगातको हत्या भएको धेरै भएको थिएन  ।
‘दुःखीलाई दुःख पर्दा जे भए पनि दुःखीकै मन दुख्छ ।’ बालुमायाले भनी । 
‘शत्रु र मित्रु छुट्याउन नसक्ने भएपछि गरिबले गरिबलाई माया मान्छ भन्ने कुरो पनि झुट्टै रहेछ ।’ नन्दकलाले आफ्नो धारणा राखी ।
‘हो त नि मान्छेको मनमा को पस्न सक्छ र ?’ बालुमायाले अगाडि भनी – ‘अँ साँच्चै सोध्छु भन्दाभन्दै भुसुक्कै बिर्सेँछु । अविरलको खबर त आइरहन्छ होइन र ?’
‘धेरै भयो दिदी बखर नआएको, चार महिना भयो होला ।’ अँध्यारो मुख लगाउँदै भविसराले जवाफ दिई ।
‘कहिलेकाहीँ त गगनले पनि ढिलो गर्छ । आमाको मनलाई बुझ्दैनन् उनीहरूले । अरू पनि छन् नि घर तर आँखाअगाडि त्यही मात्र नाचिरहन्छ ।’ – बालुमायाले दुःख व्यक्त गरी ।
‘अविरलले त त्यसो गर्दैनथ्यो । पार्टीको कामले भ्याएन होला नि खबर पठाउन ।’ भविसराले छोरालाई कठोर भएको कल्पना गर्न सक्दैनथी । दुई महिनासम्म त उसलाई त्यति अस्वाभाविक लागेको थिएन । तर, त्यसपछि भने उसको मन पानीउम्ले जस्तो भकभकी पाक्न थालेको थियो ।
‘आजभोलि हाम्रो कार्यक्षेत्र छुट्टिएको छ, अविरलसँग भेट हुँदैन । तपाईंहरू पनि सतर्क रहनु होला । यति बेला सरकारले माओवादी पार्टीका सदस्य र समर्थकहरूलाई ‘खोज्ने र मार्ने’ अभियान सञ्चालन गरिरहेको छ ।’ एकदिन अविरलको पुरानो साथीले घर आएको बेलामा भन्यो ।
‘केही गडबडी भएर यसले लुकाएको त होइन ?’ भविसराको छातीभित्र हाहाकार मच्चाउने उत्पातको आँधी मच्चियो । हरेक दिन मृत्युका खबरहरू गोमन बनेर ठुँग्न आउँथे । ‘को होलान् ती ?’  – भविसराले नालीबेली खोज्दै हिँड्थी । ‘कतै अविरल त परेन ?’ एउटा अनिष्ट शङ्काले पछ्याउन कहिल्यै छोडेन र तर्कहरू पराजित भइरहेका थिए ।
साउन महिनाको टोक्न आउला जस्तो निस्पट अन्धकार रातमा भविसरा पिँढीमा बसेर टोलाइरहेकी थिई । बिहानदेखिको घनघोर वर्षा अझै थामिएको थिएन । बिजुली चम्काइ र मेघगर्जनले रातलाई अझै भयावह बनाइरहेका थिए । उराठिलो रातझैँ उसको मन पनि त्यसै त्यसै उराठिएको थियो ।
‘यो पानी, यस्तो अन्धकारमा शत्रुसँग कसरी लडिरहेको होला ?’ उसको दृष्टिमा यस्तो विम्ब उदायो जसमा अविरल घनघोर वर्षामा भिज्दै र अँध्यारोमा लड्दैपड्दै भीरपाखामा दौँड्दै यियो ।
‘यहाँ आएर बस्नु भएको रहेछ’  – अनुपा पनि उठेर बाहिर आई ।
‘यस्तो काल वर्षामा कहाँ पुगेको होला दाजी’ ?’ उसको तरल मन नपोखिइरहन सकेन ।
‘वर्षा भएर के भयो त ? जङ्गलमा बस्ने हो र ? दाजी जहाँ भए पनि जनताकै बिचमा हुनुहुन्छ ।’ अनुपाले विश्वासपूर्वक भनी ।
‘तैँले ठीकै भनिस्, ऊ एक्लै छैन, न्यायसँग छ, जनतासँग छ । पापी र अन्यायीहरूले हराउन सक्ने छैनन् । अचानक भविसराको हृदयको भाव यसरी प्रकट भयो ।
‘हो आमा श्रमिकहरूको जित पक्का हुनेछ । लडाइँ जितेर बिहानको झुल्के घामसँगै दाजी फर्कनुहुनेछ ।’  अनुपाले आमाको काखमा टाउको राख्दै भनी ।
भविसराले स्नेहपूर्वक उसको टाउको मुसारी ।
उज्यालो भुइँमा खस्यो । भविसरा पहिल्यै ब्यूँझेकी हो तर आज उसलाई उठ्न त्यति जाँगर लागेको थिएन ‘बुहारी भए ...’ जिन्दगीमा काममा कहिल्यै पालो नपाएको उसको शरीर रोमाञ्चित हुन पुग्यो । फेरि के सोची कुन्नि, जाँगर चलाएर उठी र अँगोनामा आगो सल्काउन थाली ।
‘नमस्कार आमा, सन्चै हुनुहुन्छ ?’ एकाएक आएको आवाजले ऊ झसङ्ग भई । दुब्लो पातलो केटो खाटको छेउमा बसिरहेको थियो । उसका जुत्ता हिलो र पानीले ढाडिएका थिए । पाइन्टको तल्लो भाग लचप्प भिजेको थियो ।
‘सन्चै छु बा, बाबुलाई त मैले चिनिनँ कि ?’ उसले असमञ्ज्यस्ता प्रकट गरी । कताकता उसको मस्तिष्कमा गतिको धमिलो छायाँ पनि सल्बलाउँदै थियो ।
‘म दुई वर्षअगाडि आएको थिएँ नि, एक रात बसेको पनि थिएँ ।’ केटोले आफ्नो परिचयको नवीकरण गर्दै भन्यो ।
‘हो बाबु बल्ल सम्झेँ । आजभोलि के भएको छ कुन्नि, सुद्धि नै हराएजस्ती भएकी छु । म त अरू नै कोही होला भनेर अकमक्क परिरहेकी’ भविसले आश्वस्त हुँदै भनी ।
‘अविरल दाइ सन्चै हुनुहुन्छ, भेट्न खोज्नु भएको छ’ – विनाभूमिका केटोले समाचार सुनायो । हर्षविभोर मनलाई भविसराले बल्लतल्ल समाली । बरबर्री आँसु खसे । अँध्यारोपट्टि हुनाले आगन्तुकले देखेन । उसले छिट्टै पुछिहाली, छातीभित्र आनन्दको महासागर मडारियो । लाग्थ्यो – संसारभरिका सम्पूर्ण सुखसमृद्धि र वैभवहरू उसका अगाडि खडा भएका थिए ।
‘कहाँ हो नि जाने ?’
‘ठीक ठाउँ त मलाई पनि थाहा छैन । तिनपिप्लेमा पुगेपछि तपाईंहरूलाई सेल्टरसम्म लाने व्यवस्था हुन्छ, बरू टाढा छ, चाँडै हिँड्नु पर्छ ।’ केटाले भन्यो ।
‘कति टाढा छ र ? म गएकी छु । सात दिनको बाटो भए पनि केही छैन ।’ भविसराले सहजता प्रकट गरी । मानौँ छोरो पृथ्वीको पल्लो छेउमा भए पनि ऊ हिँडेर भेट्न जान्थी ।
‘सुराकीहरू पछि लाग्न सक्छन्, सतर्कतापूर्वक जानुहोला ।’ धेरैबेर बस्न नमिल्ने बताउँदै आगन्तुक उठेर हिँडिहाल्यो ।
भेटघाट, उत्कण्ठा र वात्सल्य प्रेमले भविसराको शरीरमा जीवनको नयाँ शक्ति सञ्चार भएको थियो र मन उमङ्गले भरिपूर्ण भयो । कुनै खुसीयालीको पर्व मनाउन हतारिएझैँ ऊ हतारिएकी थिई ।
‘भेट हुनेबित्तिकै झोला खोतल्छ, खोइ के लैजानु खाने चीज ? तिलको छोपभन्दा हुरूक्क हुन्छ, तँ तिल भुट्दै गर्, म मास पिस्छु, फापरको पिठो छ, फुरौला पकाएर लगिदिउँला ।’ उसले छोरीलाई अराई र मास पिस्न थाली । जाँतोको ¥याइ¥याइँमा पनि आज खुसीकै सङ्गीत बजेको थियो ।
सबै तयार भयो ।
‘तँ झोला मिलाउँदै गर् म बालुमाया दिदीलाई भरेभोलि यसो भैँसीको रेखदेख गरिदिन भनेर आउँछु । अँ सुन् त, कपडा फाटेर झुत्रे भएर हिँडेको होला । बाकसमा अस्ति सिएको नयाँ कमिज छ, त्यो पनि राखेस् ।’ भविसरा बतासिँदै गगनको घरतर्फ लागी ।
आमा फर्केर आइपुग्दा अनुपाले झोला तयार पारिसकेकी थिई । उसले दाजुलाई मोजा र रूमाल बुनिदिएकी थिई । ‘मैले आफैँ बुनेको भन्दा दाजु खुसी हुनेछ’, ऊ फुरूङ्ग थिई ।
‘माइत भाइ बिरामी छ रे । एकपटक देखेर आउँछु भनेर हिँडेकी । ‘म पनि मामालाई भेट्छु’ भनेर यो पनि पछि लागी । लौ हिँड् छिटो अबेला भइसक्यो ।’ बाटोमा कोही परिचित मानिस भेटिँदा भविसराले यसो भन्थी र फटाफट हिँडिहाल्थी । मानौँ ऊ सिकिस्त भाइको मुख देख्न दौडँदै थिई ।
झरीपछि उघ्रेको दिन थियो । साउन मासको चर्को घामले तालु सेकेर शरीरबाट खलखली पसिनाका धारा छुटेका थिए । करिब तिनघन्टा त नाक ठोस्सिने उकालो मात्रै हिँड्नु पथ्र्यो । भविसरा एक सुरले हिँड्दै थिई । यसो पछि हेरी, अनुपा निकै तल थिई । उभिएर पर्खन थाली ।
‘साह्रै गर्मी भो, आमा । एकैछिन बसौँ न ।’ आमालाई भेट्टाएपछि अनुपाले भनी ।
‘भो नबसौँ छोरी । शीतलमा बसेपछि जीउ झन् लत्रिएर हिँड्न सकिँदैन । अब धेरै छैन । आज पुग्न सकिएन भने दाजी हिँडिहाल्न सक्छ । भेट भइहाल्यो भने पनि उही एकैछिन देख्नु मात्रै हुन्छ । भरे पुग्न सकियो भने त रातभरि सँगै बस्न पाइन्छ ।’ उसले छोरीलाई साहस भर्दै भनी ।
‘जाउँ त्यसो भने ।’ अनुपा अगाडि लागी र छिटो – छिटो पाइला चाल्न थाली । उकालो पार गरेर उनीहरू केही बेरसम्म मैदानमा हिँडेर फेरि ओरालो झरे । ठाडो खोला जब्बर थियो, बडो मुस्किलले तरे, अनुपा झन्डै बगेकी थिई ।
बाटोमा आमाछोरी एकआपसमा त्यति धेरै बोलेनन् अथवा यसो भनौँ बोल्नलाई फुर्सदै भएन । तिनीहरू दिनभरि बसेनन्, छिटोछिटो हिँडिरहे ।
साँझ पर्नु अगाडि नै तिनीहरू निर्धारित ठाउँमा पुगे । त्यहाँ कुनै अप्ठ्यारो परेन, चिनेकै मानिसले कुरेको रहेछ । त्यहाँबाट एक घन्टा हिँडेपछि बल्ल सेल्टर आइपुग्यो ।
‘आमा र बहिनी ।’ अविरले घरबेटीलाई परिचय गरायो ।
‘दिउँसोदेखि बाबुले बाटो हेरी बस्नुभएको छ । धन्सारमा बस्दै गर्नुस् म खाना बनाउँछु, अनि कुरा गरौँला नि ।’ भविसराकै उमेरकी पातली भद्र महिलाले स्वागत गर्दै भनी ।
‘निकै जाती जस्तै छन् ।’ भविसराले मनभित्र मूल्याङ्कन गरी ।
‘तँलाई सञ्चै त छ ?’ धन्सारको खाटमा बस्नेबित्तिकै भविसराले सोधी । अविरलको गहुँगोरो अनुहार उज्यालो भयो । काला आँखा विश्वासपूर्वक चम्के । हेर्दाहेर्दै भविसराका आँखाभित्रका शान्त तलाउमा अचानक लहर उत्पन्न भयो र छचल्कियो ।
‘म एकदम ठीक छु । कतै टाढा जानु परेकोले खबर गर्न सकिनँ । पुलिसले कत्तिको दुःख दिएको छ ?’ अविरलले घरगाउँको सबै नालीबेली सोध्यो ।
‘सताउन त किन छोड्थे र ! उनीहरूको कामै त्यत्ति हो’, भविसराले भनी ।
‘अनुपा स्कुल गइरहेकी छस् होइन र ? अनि के छ नि तेरो सङ्गठनको कुरा ?’ बहिनीतिर फर्कदै अविरलले सोध्यो ।
‘किन नजाने नि ? गइरहेकी छु । बरु महिला सङ्घको कामले गर्दा स्कुल छुटिरहन्छ । कति धेरै सदस्य छन् आजभोलि ।’ अनुपाले आफ्नो कामको बयान गर्दै भनी ।
‘भोभो, धेरै फुइँ लाउनु पर्दैन । एउटाको जिम्मा नलगाउने हो भने यसलाई मैले घर धानिरहन सकुँला जस्तो छैन ।’
अविरल मुस्कुरायो । अनुपा ठस्केर अर्कोतिर फर्की ।
‘हेर । कति चुसुक्क परिछस्’ – भविसराले गुनासो गर्दै भन्न थाली । ‘जहाँ पनि तँ नै अगाडि सर्नुपर्छ । आफ्नो ज्यानको कहिल्यै वास्ता छैन ।’
‘यस्तै हो आत्तिनु पर्दैन’ –  आमालाई विश्वास दिलाउँदै अविरलले भन्यो –  ‘कम्युनिस्ट पार्टी हाम्रो अभिभावक हो । त्यसले सबैलाई आमाले जस्तै माया गर्छ । कसैलाई एक्लै अगाडि पठाउँदैन । आवश्यकता र जिम्मेवारीअनुसार अगाडि – पछाडि हुने हो ।’
‘त्यहाँभित्र पनि खराब मान्छे हुन्छन् रे नि । आफ्नै भनेका मान्छेबाट बाँच्न गाह्रो हुन्छ । बाहिर दुस्मनले कति जाल फैलाएको छ ।’
‘पार्टीभित्र कोही मान्छे खराब हुन सक्छ, तर धेरै समय टिक्न सक्दैन । भित्री र बाहिरी दुस्मनसँग हामी सतर्क छौँ ।’
भात खाइसकेपछि पनि आमा – छोराले कुराकानी जारी नै राखे । अनुपा भने सुती ।
‘आमा सुत्नोस्, त्यति टाढाबाट आउनु भएको थकाइ लागेको छ । भोलि कुरा गरौँला ।’ अविरलले घडी हेर्दै भन्यो । रातको दुई बजेको थियो ।
‘हुन्छ तँ पनि सुत्’ – अनिच्छापूर्वक भविसराले स्वीकृति दिई ।
‘भन्न सकिँदैन फेरि कहिले यसरी बस्न र कुरा गर्न पाइने हो । जे पनि त हुन सक्छ ...’ उसले ओछ्यानमा पल्टेर सोच्न थाली । उसको मनमा अविरललाई अझै हेरिरहुँझैँ, अझै बोलिरहुँझैँ लागिरहेको थियो ।


000