कथा
गङ्गाराम
आन्विका गिरी
बाराको बुधिया गाउँमा गङ्गारामको माटोले बनेको एउटा सानो घर छ । चैतको मध्य घाममा मुसाले दुःख दिएपछि मालिकको घरबाट एकछिन छुट्टी लिएर आएकी गङ्गारामकी स्वास्नी घरभित्र मुसाको प्वाल टाल्दै थिई । टाल्न त ऊ घरको छाना पनि टाल्न चाहन्छे तर हरेक रात गङ्गाराम पैसा छैन भनेर घर छाउने कुरा टालिरहेको थियो । घर छाउने कुरा उसको वशमा नभए पनि घरभित्रका केही प्वाल टाल्ने कुरा बौकीको वशमा थियो । त्यसैले सखारै उसले पैनीबाट हिलो माटो ल्याएर ठिक्क पारेकी थिई । मालिकको घरबाट मालिक्नीसँग बडो विनय गरेपछि उसले अलिकति भुस पनि पाई । माटो र भुस मिसाएर प्वाल टाल्न तयार भएकी उसले छानाको प्वालबाट सूर्यको चहकिलो किरणलाई एकछिन घुरेर हेरी अनि गङ्गारामले भनेको सम्झी, ‘दिनमा घाम र रातमा चन्द्रमा धनीको घरभित्रबाट कहाँ देखिन्छ ? धन्य ! हामीले सूर्य र चन्द्रमा हेर्न घरबाहिर बरन्डामा वा छतमा जानु पर्दैन’। उसलाई गङ्गारामको कुरा दिक्क लाग्दो लागे पनि अहिले फिस्स हाँसी र काम सुरु गरी । अरू त केही होइन, छमा पढ्दै गरेको छोराको किताब मुसाले खाइदिएपछि बौकीलाई झोँक चलेको थियो । मुसाको विष किन्न पनि गङ्गारामले छोराको कलम किन्ने कुरा तेस्र्याएर उसलाई चुप लगाएको थियो । गङ्गारामसँग बौकीलाई चुप लगाउने धेरै कुराहरू थिए ।
बौकी मस्त प्वाल टाल्दै थिई । मुसालाई गाली गर्दै प्वाल टाल्दै गरेकी बौकीलाई घामसँग पनि रिस उठिरहेको थियो । गर्मीले ऊ पसिना पसिना भइसकेकी थिई । माटोको हातले निधारको पसिना जति पुछे पनि निख्रिएको थिएन । झन् बढी, झन् बढी गर्दै उसलाई भिजाउँदै गइरहेको थियो ।
‘सुरजकी आमा, बाहिर आइज रे ।’, छिमेकी रामदास कराउँदै आयो, ‘घरमा आगो लागेको छ ।’
भात खान घर आएको बेला रामदासले बौकीलाई आँगनमा माटो मुछ्दै गर्दा देखेको थियो । रामदास उमेरमा गङ्गाराम भन्दा ठूलो भएकाले बौकी उसलाई दाजु भन्थी ।
‘आज काममा गइनस्?’, उसले सोधेको पनि थियो ।
‘मुसाले बहुत दुःख दियो’, बौकीले दुःख सुनाएकी थिई, ‘प्वाल टाल्न भनेर मल्काइनसँग सोधेर आएको । काम खतम भएपछि जान्छु ।’
पहिला त बौकीले रामदासले कराएको सुनिन । ऊ प्वाल टाल्नमै मग्न थिई । तर जब सूर्यको किरण छिर्ने प्वालबाट धुँवा छिर्न थाल्यो, बौकी अत्तालिई । रामदास ढोकामा पुगिसकेको थियो । बौकी ढोकामा निस्कन नपाउँदै ढोका र उसको बिचमा घरको धुरी झ¥यो । रामदास धुरी झरेपछि आफै पनि अत्तालियो र आँगनमा आएर चिच्याउन थाल्यो । मुसहरहरूको बाह्र तेह्र घरको बस्ती सुनसान छ । केटाकेटी कोही स्कुल गएका छन् त कोही गर्मी छल्न पैनीमा पौडी खेल्न पुगेका छन् । हात गोडा चल्ने ठूलाहरू सबै काममा गएका छन् । हातगोडा नचल्ने बुढाहरू गाउँको पुछारमा घर भएको हरियाको घरभन्दा पर परालले छापेर बनाएको सानो छाप्रोमा गाँजा तानेर बसेका छन् । रामदासकी स्वास्नी पनि काखको सानो बच्चालाई च्यापेर काममै गएकी छ । काममा जानुअघि लोग्नेका लागि भात पकाएर गएकी थिई । त्यही भात खान आएको रामदासको बोलीमा पनि खास ताकत छैन तर पनि ऊ चिच्याइरहेको छ, ‘गङ्गाको घरमा आगो लाग्यो, पानी ल्याओ, पानी ल्याओ!’
बौकीले भित्तालाई दुईचार लात हानी । आजभोलि नै ढल्ला जस्तो भएको भित्ता जिद्दड बनेर उभिइराख्यो । रामदासले बाहिरबाट केही देखेन, तर आँगनमा मान्छे जम्मा हुँदा घर खरानी भइसकेको थियो । गङ्गाराम आउँदा त बौकी पनि खरानी भइसकेकी थिई । हरियाले खरानीमा एक डोल पानी खन्यायो । बाँसको दलिनमा आगो बाँकी नै रहेछ, स्वाँको आवाज निस्क्यो । बौकीको आवाज भने सुनिएन ।
पछि सबैले खरानी बटुल्दा बौकीको क्षतविक्षत अनुहार भएको लास र ढडेका मुसाहरू भेटिए । अरू छुट्याउन बाँकी केही पनि थिएन ।
गङ्गारामको छोरो सुरज, छोरी कलावती, बाबु कालीराम आउँदा केही गाउँले मरेका मुसाहरू लाँदै थिए । बौकीको लास गाउँ बाहिरको पैनीभन्दा अलिपर लगेर गङ्गाराम, रामदास र हरिया मिलेर गाडे । त्यो पनि मालिकले आफ्नो खेतमा गाडेको थाहा पायो भने निकाल्न लगाउला भन्ने भयका साथ ।
गङ्गाराम बुधिया गाउँको ऐलानी जग्गामा बसेको दस वर्ष भयो । उनीहरू रामदासले भनेपछि सप्तरीबाट यहाँ आएका थिए । रामदास साख्खै दाजु त थिएन गङ्गारामको तर परको साइनो थियो । बौकी सुरजलाई च्यापेर यो गाउँमा भित्रिएकी थिई, खरानी भएर यही गाउँको माटोमा समाहित भई । तिनजना छोरी र एउटा छोरा, लोग्नेस्वास्नी र गङ्गारामको बुढा बाबु सहित गङ्गारामको परिवारमासात जना थिए । दुई ओटी छोरीको बिहे उसले दुई गाउँ पर गरिदिइसकेको थियो । कलावती चौधमा टेक्दै थिई, उसको बिहेका लागि पनि गङ्गाराम केटो खोजिरहेको थियो । एउटा संस्थाको सहयोगमा सुरजलाई गङ्गारामले स्कुलमा हालेको थियो ।
बौकी खरानी भइसकेपछि अब परिवारमा गङ्गाराम, उसको छोरो सुरज, छोरी कलावती र बाबु कालीराम बाँकी भए ।
रामदासले जति भने पनि गङ्गाराम आँगनमै आफ्नो धोती ओछ्याएर पसारियो । र सम्झ्यो, बौकीले अरू कुरामा त जिद्दी गरेकी थिइन तर एउटा जालीवाला चप्पलको भने उसलाई खुब धोको थियो ।
‘मैले केही मागिनँ’, उसले भनेकी थिई, ‘छ ओटा बच्चा पाएँ, तैँले जे दिइस् त्यही खाएँ । जे मागेँ, यही घरका लागि मागेँ, आफ्ना लागि केही मागिनँ । एउटा जालीवाला चप्पल ल्याइदे, मलाई लाउन मन छ !’
‘अहिलेसम्म मैले चप्पल नै लगाएकी छैन’, उसले अनुहार मायालाग्दो बनाएर आफ्नो खुट्टा देखाएकी थिई, ‘हेर् त मेरो खुट्टा ! काँडाले छियाछिया पारेको छ ।’
हो पनि ! उसको खुट्टा छियाछिया नै परेको थियो । गङ्गारामले अरू बेला पनि त्यो खुट्टा नदेखेको होइन तर बौकीले नै देखाउँदा उसको मुटु नै छियाछिया भयो । परिवारमा सुरजको मात्र चप्पल थियो । त्यो पनि स्कुल जाने भएपछि किनिदिएको । गङ्गारामले पनि एकफेर चप्पल लगाएको थियो । उसको बिहे हुँदा उसलाई कालीरामले किनिदिएको थियो । त्यसको तलुवामा प्वाल परेपछि उसका खुट्टा पनि खाली नै थिए । काँडाले त उसलाई पनि बिझाउँथ्यो । तर पनि सोचेको थियो, पहिले बौकीलाई नै चप्पल किनिदिन्छु । चप्पल त कलावतीले पनि मागेकी थिई तर पहिला आमालाई अनि तँलाई भनेर गङ्गारामले कलावतीलाई चुप गराएको थियो ।
गङ्गारामले ५० रूपैयाँ ठिक पनि पारेको थियो । पहिला त उसले बौकीलाई नै पैसा दिन्छु, उसैले किन्छे भन्ने सोचेको थियो तर फेरि बौकी कहिले बजार जान्छे र ! उसले पनि पठाउने अरू कसैलाई नै हो बरु आफै किनेर दिन्छु भन्ने सोच्यो । मालिकको यो काम र उकामले उसलाई फुर्सद नै भएन । उसको सोचाइ थियो, फुर्सद हुनासाथ बजार जान्छु र चप्पल ल्याएर भन्छु, ‘ले रतिया, चप्पल लगा !’ बौकीको खास नाम रतिया थियो ।
गङ्गाराम सोचेको सोच्यै भयो । दलिनमा एउटा प्लास्टिकको टुक्रामा बेरेर घुसारेको पैसा पनि खरानी भयो ।
बौकीको शोक गङ्गारामले त्यही रातमात्र मनायो ।सखारै घाम नलाग्दै गङ्गाराम मालिकराजकुमार अधिकारीको खेततिर लाग्यो । कलावती आमाको ठाउँमा काम गर्न उही राजकुमारको घरमा गई । सुरज स्कुल गयो । कालीरामलाई गाँजा तान्ने ठुलो बहाना मिलेको थियो, ऊ किन गुमाउँथ्यो ।
राजकुमारसँग प्रशस्त खेत थियो । सारा मुसहर गाउँका मुसहरले गरेर पनि नभ्याउने । गङ्गाराम यो गाउँमा आएदेखि रामदासको सिफारिसमा उसैको खेतमा काम गरिरहेको छ ।
गङ्गारामको घरमा कसरी आगो लाग्यो भनेर कुरा गर्न फुर्सद कसैलाई थिएन । बिचरा भनेर सहानुभुति दिनसम्म पनि मुस्किल थियो । बौकी त मरिहाली तर अरूलाई त भात खानु थियो । त्यसैले सबै भात खाने धन्दामा चामल जुटाउन व्यस्त भए ।
घर नै नरहेपछि राजकुमारले गङ्गारामलाई दुई दिनमा घर ठड्याउन केही बाँस, अलिकति पराल र छुट्टी दिए । छोरीज्वाइँहरूको मद्दतले गङ्गारामले एउटा माटोको घर फेरि बनायो । उसको टाउकोमा राजकुमारको अलिकति ऋण पनि लाग्यो । सुतरी, काँटी र अरू खœयाकखुत्रुक सामान किन्न पैसा त चाहियो नै ।
बौकी त सकिई तर गर्मी सकिएको थिएन । स्कुलबाट हाँस्दै फर्किएको सुरजले घरभित्र किताब फुत्त फ्याँक्यो र ओसारामा बसेर बाबुले झैँ डोरी बाट्न थाल्यो । गङ्गारामले राजकुमारकोबाट सनपाट ल्याएर बेलुका कलावतीले भात पस्केर नदिउन्जेल डोरी बाट्थ्यो । दशैँमा पिङ झुन्ड्याउन राजकुमारले गङ्गारामलाई यो काम अह्राएका थिए । अरू दिन बाबुको छेउमा बसेर डोरी बाटिरहेको हेर्ने सुरजलाई आज आफै बाट्न मन लाग्यो । आफ्ना कलिला पैतालाले सनलाई टेकेर छाला नै रातो हुने गरी रगडी रगडी डोरी बाट्ताबाट्तै उसलाई जिउ पोलेको महसुस भयो । गर्मीको असर भनेर भित्र माटोको घैलाबाट लोटामा पानी सारेर एकै सासमा उसले एक लोटा पानी स्वाट्ट पा¥यो तर शरीरभित्र झन् गर्मी बढेर आयो । उसलाई कट्टुमै मुत आउला जस्तो भयो । आँगनमा एक चक्कर दौडन पनि मन लाग्यो । यताउता हेर्छ, कोही छैन । बाउ रे भनेर मुखबाट निस्केको आवाज पनि चर्को थिएन । कलावती मालिकको घरबाट आउँदा भाइ छटपटाइरहेको देखी । डगरमा गएर उसले आफ्नो पुरै बल लगाएर गुहार मागी । गङ्गाराम र गाउँका मुसहरहरू दौडीदौडी आए । मालिकसँग मोटरसाइकल माग्न गएको रामदास आधाघण्टामा पनि आइ पुगेन । सुरजको छटपटाहट बढेपछि गङ्गाराम छोरो बोकेरै अस्पताल जान दौडियो ।गङ्गारामको पछिपछि कुदेको हरिया एकघण्टापछि आयो र भन्यो, ‘सुरजको सास बन्द भो, गङ्गाराम बाटोमै लडेको छ’ कलावतीलाई थुमथुमाएर घर फर्कन लागेकाहरूगङ्गारामलाई लिन गए ।
रामदास खाली हात आयो । भन्यो, ‘मालिकको गाडीमा तेल थिएन’ सुरजलाई गाड्न लैजान डगरमा गङ्गारामहरू निस्कँदा मालिकको मोटरसाइकल धुलो र धुवाँ उडाउँदै गयो । अरूले भन्दा रामदासले मोटरसाइकललाई घुरेर हे¥यो ।
सुरजको चाकभन्दा अलिकति माथि कम्मरको मुनिको भाग पुरै निलो थियो ।सर्पले टोकेपछि बाँच्न मुस्किल छ भनेर रामदासले गङ्गारामलाई सम्झायो । दुई वर्ष अगाडि सर्पले टोकेर रामदासकी पनि एउटी छोरी मरेको गङ्गाराम आफैले देखेको थियो ।
बौकीलाई जति सजिलैगङ्गारामले सुरजलाई बिर्सिएन । कामबाट घर फर्कदा ऊ झोक्राउन थालेको थियो । कलावतीले पस्केर दिएको खाना जहिल्यै ‘बढी भयो’ भनेर निकाल्थ्यो । कालीराम पनि अब साँझमा घरको आँगनको छेउमा बसेर गाँजा तान्न थालेको थियो । कलावतीले भित्र नल्याउँदा ऊ बिहान आँगनमै पसारिएको हुन्थ्यो । गङ्गारामसँग बाबुलाई भित्र ल्याएर लडाइदिने सम्मको पनि जाँगर थिएन । हरेक बेलुका कुपीको उज्यालोमा गङ्गारामले सुरजको किताब ओल्टाइपल्टाइ गर्न थालेपछि कलावतीले एकदिन आगो सल्काउन सन्ठीको साटो सुरजकै किताब प्रयोग गरी । गङ्गारामले कलावतीलाई हप्काएन । सुरजको किस्सा पनि यहीँ खतम भयो ।
मालिकहरूको घरमा दशैँ आएकाले कलावती मालिककैमा बस्न थाली । गङ्गारामले घर फर्कंदा आफू र आफ्नो बाबुको लागि मालिककोबाट चिउरा र मासु ल्याउन थाल्यो । दशैंको टिकाको दिन पिङमा खुट्टा हालेर फर्कंदा राजकुमारकी स्वास्नीले कलावतीलाई घरमा देखिन । दुईचार पटक आवाज दिँदा पनि कलावती झुल्किइन । अरू बेला आवाज नै नदिई सधै अगाडि देखा पर्ने कलावती पटक पटक बोलाउँदा पनि नआएपछि सुरुमा त दिसा बस्न गइहोली भनेर सरिता चुप लागी । तर दिसा बस्ने समयको मापदण्ड उकालो लागेपछि उसले राजकुमारलाई भनी । राजकुमार रक्सी र मासु खाँदै घरको बरन्डामा पाहुनासँग तास खेल्दै थियो ।
‘त्यतै कतै होली !’, स्वास्नीको कुरामा ध्यान नदिई उसले भन्यो, ‘ल पैँतिसको माल!’
अर्की काम गर्ने बुधनीलाई गङ्गारामको घरमै पुगेर हेर्न लगाउँदा पनि कलावतीको पत्तो भएन । बुधनीले कलावतीलाई मल्काइन पिङ खेल्न जाँदा भाँडा माझ्दै गरेको देखेपछि नदेखेको बताई । घरका एकएकसँग सरिताले सोधी । कतिको नजरमा त कलावती बिहानदेखि परेकै थिइन । पाहुनाहरूसँग पनि सोधपुछ भयो । कसैले ठ्याक्कै यतिखेर यहाँ देखेँ र यहाँ गई भन्न सकेनन् ।
सूर्यको प्रकाश मधुरो हुँदै झ्याप्पै निभ्यो । बत्तीहरू बले तर कलावती देखिइन । गङ्गाराम पनि अबेर गरी मासुचिउरा लिन आयो । गोठमा गोरु बाँध्दै गर्दा सरिता त्यहाँ पुगी र भनी, ‘गङ्गे, कलावती खेतमा आएकी थिई?’
‘थिइन त मल्काइन ।’, गङ्गारामले टाउको झुकाएर सोध्यो, ‘किन र?केही काम बिगारी ?’
आमासँगै राजकुमारको घरमा आउन थालेकी कलावतीको आजसम्म काम बिगारेको रेकर्ड थिएन । उसलाई सरिताले रुचाएको कुरा बौकीले गङ्गारामलाई सुनाइराख्थी । सहरमा पढ्न बसेका छोरीहरूको लुगा पुरानो हुने बित्तिकै पाउने कलावतीले नै थियो । कलावतीलाई ठिक नभएको मात्र बुधनीकी छोरीले पाउँथी ।
‘एघार बजेदेखि बेपत्ता छे!’, सरिता फत्फताउँदै हिँडी, ‘मात चढ्यो त्यसलाई !’
गङ्गारामले के को मात चढेको हो आफ्नो छोरीलाई थाहा पाउन सकेन । मासु चिउरा नलिइकन ऊ छोरी खोज्न हिँड्यो । दुई गाउँ पार गरेर ऊ आफ्नी विवाहिता छोरीको घर पनि पुग्यो । कलावती त्यहाँ पनि पुगेकी थिइन । गाउँ फर्कदा मध्यरात भइसकेको थियो । कालीराम जागै रहेछ ।
‘कलावती घर आई ?’, गङ्गारामले सोध्यो ।
‘मासुचिउरा खोइ ?’, कालीरामले भन्यो, ‘तेरो हात त खाली छ !’
गङ्गाराम रातभर निदाएन । एकटकले छानातिर हेरिरह्यो । छाएको धेरै नभएकाले चन्द्रमा देखिएको थिएन । उसका आँखामा पानी टिलपिलाए । उसले चुलोतिर हे¥यो, जहाँ कलावती फुफु गरेर आगो फुक्थी र भन्थी, ‘मालिकको घरमा त ग्याँस छ, फुक्नै नपर्ने !’
कुपीको उज्यालो रहुन्जेल गङ्गाराम निदाएकै थिएन, कुपी निभेपछि अँध्यारामा उसका आँखा बन्द थिए कि खुला, थाहा भएन ।
कालीराम बाहिरै लड्यो । चन्द्रमाको उज्यालो बिहान मात्र निभ्यो ।
हरियाले ढोका फोडँुला झै गरेर ढोकामा लात हान्यो । गङ्गारामले ढोका लगाएकै थिएन । हरिया हुर्रिंदै सिधै भित्तामा ठोकिन पुग्यो ।
‘ए दाजु उठ !’, उठिसकेको गङ्गारामलाई उसले हात तानेर उठायो, ‘कलावतीलाई कसैले मारेर पैनीमा फ्यालिदिएको छ, नाङ्गै !’
गङ्गाराम पुग्दा सारा मुसहर गाउँ पैनीमा जम्मा भइसकेको थियो । कलावतीको नाङ्गो शरीर पैनीबाट माथि ल्याएर सबै रमिता हेरिरहेका थिए । गङ्गारामले आफ्नो पातलो सेतो लुङ्गी खोल्यो र कलावतीको जिउ ढाकिदियो । उसको कालो कट्टुको पछाडि प्वाल परेको देखियो । अघिसम्म कलावतीको नाङ्गो शरीर देखेर नलजाएका भद्रभलादमी तथा तिनमा पत्नी र छोरीहरूले गङ्गारामको कट्टुको प्वालबाट देखिने चाकको सानो भाग देखेर मुख छोपे । कलावतीलाई पनि त्यही गाडेर गङ्गाराम घर फर्कियो ।
बाटोमा सबैले भने, ‘कलावती धेरै उत्ताउली थिई, उत्ताउलोपन कहाँ टिक्छ !’
गङ्गारामले पुलिसमा उजुरी गरेन । कसैले गर् पनि भनेन । न पुलिस आफै आयो । कलावती पनि यसै सेलाएर गई ।
मालिकहरूको सिको गरेर मुसहर गाउँमा पनि माटोको दियो बनाएर बत्ती बाल्ने चलन चलेको थियो । लक्ष्मीपूजामा रामदासकी स्वास्नीले गङ्गारामको ढोकामा एउटा र आँगनमा एउटा बत्ती बालिदिई । ढोकामा बलेको बत्ती हेरेर गङ्गारामले सोच्यो, घर उजाड भयो । भोलि बिहानै गएर दुई छोरीहरूलाई लिएर आउँछु । एकदुई दिन राख्छु र पठाउँछु । कालीरामलाई छोरीहरूको घर हिँडेको खबर दिएर ऊ मालिककोमा गयो । कलावती मरेपछि राजकुमार र सरिताले उसलाई यस पटक गहुँ लगाइसकेपछि खेत नगर्न भनिसकेका थिए ।
‘हाम्रो घरमा काम गर्दा त्यस्तो भयो’, राजकुमारले भन्यो, ‘समाजले हामीमाथि आँखा तरेको छ ।’
त्यसो त राजकुमारले कलावतीको लास भेटेकै दिन सहरबाट दशैं मान्न आएका आफ्ना दुई भाइ छोराहरूलाई बिदा गरिहालेको थियो ।
खासमा रुन त गङ्गाराम चाहन्थ्यो तर आफ्नी आमा, भाइ र बैनीको मृत्युको शोक छोरीहरूले यसरी मनाए, गङ्गारामले आफ्नो आँसुको मुहान छातीभित्रै थुन्यो । आँखासम्म आउनै दिएन । मध्यरातसम्म रोइरहेका छोरीहरूलाई थमथमाउँदै गङ्गारामले भन्यो, ‘भगवानले हामीलाई हेरेन ।’
छोरीका परिवार र गङ्गाराम छिपछिपे निद्रामा थिए । त्यो पनि धेरै बल गरेपछि आएको थियो ।गङ्गाराम सम्धीसँग भित्र सुतेको थियो । दुई दिदीबहिनी पनि भित्रै सुतेका थिए । दुई ज्वाइँहरू भने बाहिर खटियामा सुतेका थिए । घर अगाडि लहरै तिनचारओटा गाडीहरू रोकिएपछि उनीहरू बिउँझिए । एउटा मान्छे दौडँदै घरभित्र छि¥यो । हावा आउँछ भनेर ढोका खुलै राखेर सुतेका उनीहरू घरभित्र को छि¥यो भन्ने चाल नपाउँदै गाडीको उज्यालोमा उनीहरूले सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली चलाउँदै घरतिर बढेको देखे । ज्वाइँहरू खटियाभित्र लुके । गङ्गारामले कान थुन्यो । प्रहरीको टर्चको चर्को उज्यालोमा उसले आँखा पनि देखेन । एकछिन पटटट भयो अनि शान्त भयो । शान्त हुँदा गङ्गारामको सम्धी, उसका दुइ छोरीहरू पनि शान्त भए । एउटा प्रहरीले तिन जना सिभिलियन र एकजना सशस्त्र समूहको मान्छे मरेको वाकीटकीमा रिपोर्ट ग¥यो । उज्यालो भयो । लासहरू उठाइए । एकजना प्रहरीको मान्छेले गङ्गारामको ज्वाइँलाई सरकारले क्षतिपूर्ति दिने कुरा गरेर गयो ।
छोरीहरू ल्याएर घर जगमगाउने गङ्गाराम आफ्नो गाउँ रित्तो हात फर्कियो । हरिया र रामदासले उसको कुरा सुने । अनि फेरि भने, ‘भगवानले तँलाई हेरेन !’
गङ्गारामलाई त पक्का नै भइसकेको थियो कि उसलाई भगवानले हेरिरहेको छैन ।
गाउँमा शीत पर्न थालेपछि घुर बल्न थालेको थियो । कालीराम गाँजाको अड्डामा भन्दा घुरकै छेउमा बस्न थालेको थियो । हरेक वर्ष झैं यो वर्ष पनि उसले गङ्गारामसँग एउटा ज्याकेटको माग गरेको थियो । गङ्गारामले हुन्छ भनेको थियो । बौकीलाई झैं बाबुलाई ऊ अनेक कुरा गरेर अलमल्याउन सक्दैनथ्यो । फेरि अब त न उससँग सुरजलाई कापी कलम किन्ने बहाना छ न कलावतीको बिहेका लागि केही जोर्नु छ । उसले राजकुमारसँग राजकुमारको कुनै पुरानो ज्याकेट छ भने बाबुका लागि मागेको पनि हो । राजकुमारले हेरौँला पनि भनेको थियो । उसको पनि आफ्नो बाक्लो लुगा त कहाँ थियो तर बिहानदेखि काम गर्दा गर्दा पुसको सिरेटोमा पनि उसको निधारबाट पसिना आउँथ्यो । ज्यान न्यानो नै हुन्थ्यो । उसलाई चलेकै थियो ।
गहुँ लगाएपछि खेत नदिने भनेर राजकुमारले भनिसकेको हुनाले गङ्गारामले रामदाससँग सल्लाह गरेर गाउँ छाड्ने निधो पनि गरिसकेको थियो । ऊ जतिसक्दो छिटो खेतको काम सकाउन चाहन्थ्यो । कलावतीको लास देखेदेखि बिँडी तान्न थालेको उसलाई हलो घिसार्न गाह्रो भइरहेको थियो । खोक्थ्यो । राती खोकेर उसले कालीरामलाई समेत बिउँझाउँथ्यो । चिसो बढ्दै जाँदा कालीराम आफै भित्र पस्न थालेको थियो । आगो नबले पनि ऊ चुलोको छेउमा सुत्थ्यो । चुलो नबलेको त कलावती मरेपछि नै हो । कलावतीले चुलोको कोइला सफा गर्न भ्याएकी थिइन, गङ्गारामले त कलावती मरेपछि चुलोको छेउमा जाने आँट पनि गरेन । कालीरामलाई भने सायद चुलो गन्धैले पनि तातो दिन्थ्यो ।
एकसातादेखि घाम लागेको थिएन । बाक्लो हुस्सु बाह्रबजेसम्म पनि फाट्दैनथ्यो । कलावती मरेदेखि त रामदासकी स्वास्नीले नै कालीरामलाई भात र साग ल्याइदिन्थी । कहिले आलुको झोल ल्याइदिन्थी अनि कहिले माछाको सिद्राको रस । गङ्गाराम खान्थ्यो कि खाँदैनथ्यो तर आजकाल मालिककोमा नै खान्छु भनेर उसले रामदासलाई भनेको थियो ।
त्यो दिन पनि अरू दिन जस्तै चिसो थियो । गङ्गारामले राजकुमारको घरमा गोरु बाँध्दा राजकुमारको परिवार सबै भित्र पसिसकेका थिए । ऊ घर आयो, सरासर भित्र पस्यो । ढोका ढप्काएर ऊ गुन्द्रीमा पसारियो । बाबुछोरा बतियाउन छाडेको त बौकी हुँदै हो । आफूले कतिचोटि भन्दा पनि बाबुले गाँजा तान्न नछाडेकाले गङ्गारामलाई बाबुसँग रिस उठेको थियो ।
बाबु भित्रै सुतेको होला भनेर गङ्गारामले ध्यान दिएन । कुपी पनि बालेन । उसले कुपीमा मट्टितेल नहालेको पनि धेरै भएको थियो । कलावती थिई र पो मट्टीतेल छैन है भनेर उससँग करकर गर्थी । अँध्यारोमा उसले बाबु लम्पसार पर्ने ठाउँतिर पनि हेरेन । खोक्दाखोक्दै ऊ निदायो ।
बिहान बिउँझेर उसले चुलोतिर हे¥यो । कालीराम ठाउँमा थिएन । उसलाई लाग्यो, कालीराम उठेर घुर ताप्न गइसक्यो । बुढाहरू धेरै निदाउन सक्दैनन्, त्यसैले सबैरै हरियाको घर अगाडि घुर बालिहाल्थे । ढोका खोल्यो । हुस्सु बाक्लो लागेको थियो । आँगन पनि राम्रोसँग देखिएको थिएन । आँगनको कुनामा दिसा धुन राखिएको लोटा लिन ऊ गयो । लोटा टिप्यो र हिँड्न लाग्दा देख्यो, छेवैमा कालीराम लडेको छ । टिपिसकेको लोटा उसले छोड्यो र बाबुलाई उठाउन गयो । कालीरामको ज्यान चिसो थियो । उसले नाकमा आँैला लगेर कालीरामको सास अनुभूत गर्ने प्रयास ग¥यो । सास आएन । उसलाई लाग्यो, जाडोले बाबु कक्रियो । हतारहतार बाबुलाई भित्र लगेर उसले चुलोको छेवैमा भएको झिँगटी बाल्यो । हात सेक्यो र बाबुको निधारमा हात राख्यो । उसले बाबुको हात पनि सेक्यो । पैताला पनि सेक्यो । तर जे जे सेके पनि कालीराम चलमलाएन । अनि उसले नारी छाम्यो । दाहिने कान कालीरामको छातीको देब्रे पाटोमा लगेर मुटुको धड्कन सुन्ने प्रयास ग¥यो,केही चाल पाएन । कालीरामको शरीरबाट गाँजाको गन्ध मात्र आइरहेको थियो ।
दौडेर ऊ रामदासलाई बोलाउन गयो । रामदास मालिककोमा जान ठिक्क परेको थियो । रामदास आएर कालीरामको नारी छाम्यो, नाकमा आँैला लगेर सास फेरेनफेरेको विचार ग¥यो अनि मुटुको धड्कन पनि अघि गङ्गारामले गरे झँै गरी सुन्यो । केही आवाज आएन अनि रामदासले दबेको स्वरमा भन्यो, ‘मरिसक्यो !’ उसले थप्यो, ‘सायद रातभर बाहिर चिसोमा कठ्याङ्ग्रिएर म¥यो ।’
टुक्रुक्क बसेको गङ्गाराम भुइँमा थ्याच्च बस्यो । रामदासले यसपटक भगवानको कुरा गरेन । उनीहरूले आशाराम र हरियालाई बोलाए अनि कालीरामलाई लगेर गाडे ।
कालीरामलाई गाडेर गङ्गाराम मालिककोमा गयो । गोरु फुकायो । राजकुमार ओसाराको मेचमा बसेर हुक्का तान्दै थियो । गङ्गारामलाई गोरु फुकाएर हिँड्न लागेको देखेर राजकुमारले भन्यो, ‘ज्याकेट दिन भनेर ठिक्क पारेको थिएँ’गङ्गारामले सुने जस्तो गरेन, गोरुलाई चुट्तै ऊ बाटो लाग्यो ।
गङ्गारामले राजकुमारको खेती छाडे पनि गाउँ छाडेको थिएन । ऊ बैशाख कुरिरहेको थियो । कारण के थियो, कसैलाई थाहा थिएन । रामदासलाई उसले बैशाखपछि चाहिँ यहाँ बस्दिनँ मात्र भनेको थियो । ऊ रामदासकैमा खान्थ्यो । थोरै खान्थ्यो । रामदासका जोइपोइ मात्र बस्थे । छोरा थिएनन्, एउटी छोरी साँपले टोकेर मरेकी थिई, अरू तिन ओटीको बिहे गरिदिएको थियो । जोइपोइ भित्र सुत्थे, गङ्गाराम आँगनमा खटियामा नै सुत्थ्यो ।
चैतको अन्त्यतिर बुधिया गाउँ पुरै तातेको थियो । हावा पनि तातो नै चलिरहेको थियो । गङ्गाराम ओसारामा बसेर बिँडी तानिरहेको थियो । आकाशमा धुवाँको मुस्लो देखियो । ऊ ओसाराबाट झरेर आँगनमा आयो । धुवाँको मुस्लो गाउँको पूर्वी दिशाबाट आइरहेको थियो । ऊ त्यतै दौडियो । अरू मान्छेहरू पनि त्यतै दौडिरहेका थिए । खेतको काम छाडेर खेतालाहरू पनि ऊसँगै दौडन आइपुगे । उनीहरूको दौड राजकुमारको घरमा पुगेर रोकियो । राजकुमारको गुहालीमा आगो लागेको रहेछ । मान्छेहरू पानीमाथि पानी खन्याइरहेका थिए । गङ्गारामहरू पुग्दा त आगो करिब निभि नै सकेको थियो । गुहालीमा दिउँसोको पानी खुवाउन ल्याइएका बाख्राहरू थिए । तिनीहरू पानीले पुरै भिजेका थिए । छाना पुरै डढेको थिएन । खाँवाहरूमा धुवाँको कालो थियो । सबजना ‘रामराम धन्न घरलाई छोएन’ भनेर भगवानको नाम लिइरहेका थिए ।
गङ्गारामको त्यहाँ काम थिएन, आगो निभेपनि पानी अरूले नै ओसारिरहेका थिए । गाउँका सबै जम्मा भएका थिए । भिडबाट बाहिरिँदै गर्दा उसले सुन्यो, ‘भगवानले हेरे हामीलाई !’ उसले फर्केर हे¥यो, दुई हात जोडेर आकाशतिर फर्कंदै मालिक्नी भगवानलाई धन्यवाद दिँदै थिई ।
गङ्गारामलाई लाग्यो, भगवानले हेर्दै नहेर्ने त होइन रहेछ नि । राजकुमारका बाख्राहरूलाई त हे¥यो, मेरा बालबच्चालाई चाहिँ किन हेरेन ? तर उसले उत्तर खोजेन । फर्केर रामदासको ओसारामा आएर बिँडी तान्न थाल्यो । साँझमा रामदास पनि आयो । अनि आउने बित्तिकै उसले भन्यो, ‘मालिकलाई भगवानले हे¥यो !’
गङ्गारामले गाउँ छाड्ने दुई दिनअघि राजकुमारका छिमेकी जगदीश पण्डितको घरमा जाऊँ भनेर रामदासले गङ्गारामलाई तानेरै लग्यो । गङ्गारामले ‘के भयो र?’ भनेर सोध्दा रामदासले ‘आफूलाई थाहा नभएको तर सब उनकै घरमा जाँदैछन्’ भनेर मात्र भन्यो । बाटोमा उनीहरूलाई पछाडि पारेर एउटा सेतो मोटर गयो । उनीहरू पण्डितको घर पुग्दा त्यो मोटरमा केही मान्छे पण्डितकी स्वास्नीलाई बोकेर मोटरमा हाल्दै थिए । पण्डितनीको पाखुरामा डोरीले बाँधेको थियो । राजकुमार र सरिता पनि पुगेका थिए । गाउँका अरू मान्छे पनि भेला हुन भ्याइसकेका थिए । ‘ल ल छिटो छिटो !’, मान्छेहरू कराइरहेका थिए, ‘जति ढिलो भयो, विष उति फैलन्छ’ गङ्गारामले बुझ्यो, पण्डितनीलाई साँपले टोकेछ । उसले पण्डितलाई हे¥यो, पण्डित मोटरमा चढ्न आँटेका थिए । गङ्गारामको मन फुसफुसायो, ‘सर्पले डसेपछि सकियो हजुर, मान्छे बाँच्दैन ।’
तर दुई दिनपछि त्यही सेतो मोटर गङ्गारामकै आँखा अगाडिबाट गयो । उसले मोटरको झ्यालबाट पण्डितलाई देख्यो । पण्डित शोकमा थिएनन् । उसले पण्डितको अनुहारमा एकप्रकारको राहत देख्यो । बेलुका रामदासले खबर ल्यायो, पण्डितनीलाई भगवानले हेरेको । पण्डितनीलाई समयमै अस्पताल पु¥याएर पण्डितले बचाए भनेर रामदासले आफ्नी स्वास्नीलाई पनि सुनायो ।
गङ्गाराम राजमार्ग पुगिसकेको थियो । लुङ्गी र भेस्टमा आफ्नो सुकेको ज्यान घुसारेर ऊ हिँड्न तयार हुँदा रामदासले राजकुमारले दिएको पुरानो पेन्ट दिन नखोजेको होइन । तर गङ्गारामले मानेन । रामदासकी स्वास्नीले रोटी र नुन खोर्सानीको पोको थमाउन खोजी, उसले त्यो पनि लिएन । उससँग थोत्रा लुङ्गी र एकदुई ओटा गन्जीहरू थिए, ती पनि सबै प्वाल परेका । उसले तिनलाई पनि लगेन ।
खल्तीमा बिस रूपैयाँको नोट बोकेर राजमार्गमा उभिएको गङ्गारामलाई देखेर कुनै गाडी रोकिएनन् । तिनले ऊ कुनै यात्रामा हिँडेको विश्वास गर्न सकेनन् । लाग्न पनि यस्तो लाग्थ्यो, ऊ सडकमा गाडीहरू हेर्न आएको हो, धीत मरुन्जेल हेर्नेछ र फर्कनेछ । उसले पनि कुनै गाडी रोकेन । ऊ सडक वारि र पारि गरिरहेको थियो । पूर्व जाने कि पश्चिम तय गर्दागर्दै प्रहरीको एउटा भ्यान उसको अगाडि रोकियो । केही प्रहरी ओर्लिए र उसलाई क¥याप्प समातेर भ्यानमा कोचिहाले । गङ्गारामलाई केही बोल्नै दिएनन् । प्रहरी कार्यलयमा भ्यान रोकिएपछि उसले देख्यो, रामदास, हरिया, बुधे र अरू पनि मुसहर गाउँका लोग्नेमान्छेहरूको लाइन थियो । हातमा लाठी बोकेको एउटा प्रहरी भन्दै थियो, ‘छिटो भनिहाल, कार्कीजीकी छोरी गाउँबाट कसरी बेपत्ता भइन् । नत्र छाला काढ्छु तिमेरुको !’
गङ्गाराम पनि लाइनमा बस्यो । गाउँ छाडेर जान लागेकोले उसको त झन् विशेष सोधपुछ भयो । गङ्गारामले प्रहरीका सयौं प्रश्नको एउटै जवाफ दियो, ‘भगवानले नहेरेपछि म किन गाउँमा बसूँ? मलाई लाग्यो, अब भगवानले जहाँ हेर्छ त्यहीँ जान्छु’ उसको जवाफले के काम गथ्र्यो र अरू जस्तै उसले पनि रामधुलाइ खायो ।
प्रहरी हिरासतमा रातभर मुसहर गाउँका सबै लोग्नेमान्छेले ‘हामीलाई पनि भगवानले हेर्ला, भगवानको नजर चारैतिर छ’ भनेर भगवानको पुकारा गरिरहे । गङ्गारामले भने आफ्नो लुङ्गी खोलेर त्यहीँ ओछ्यायो र सुत्यो । कुटाइले थलथल भएको शरीर एकछिन सुस्ताउन पाउँदा ऊ त निद्राले भुस भएछ ।
कार्की जिल्ला स्तरको नेता थियो । बसाइ त उसको सदरमुकाम कलैयामै थियो तर बेलाबेलामा सपरिवार गाउँ जान्थ्यो । सारा मान्छे भेला पाथ्र्यो, आफू र आफ्नो पार्टीको कुरा सुनाउँथ्यो । देशमा के भइरहेको छ भन्ने जानकारी उसैबाट मुसहरहरूले पाउँथे भन्दा अन्यथा हुँदैनथ्यो । यसपटक गाउँ गएको मौकामा उसकी छोरी बेपत्ता भएकी थिई ।
दुई दिन हिरासतमा सोधपुछ हुँदा पनि प्रहरीले केही पत्तो पाउन सकेन । प्रहरीलाई पनि साह्रै थियो । निकै दौडधुपमा लागेका जस्ता देखिन्थे । कार्की आफै पनि आएर थर्काएर गएको थियो, सबै मुसहरहरूलाई अनि प्रहरीहरूलाई पनि । तेस्रो दिन बिहानै सबै मुसहरहरूलाई बाहिर निकालेर प्रहरीले केही नभनी बिदा ग¥यो । मुसहरहरू पनि केही नबोली बाटो लागे । गङ्गाराम छुट्टिन खोजेको थियो, रामदासले दिएन र गाउँ लगेरै छाड्यो ।
‘उसको लबरसँग भागेकी थिई’, घर पुग्ने बित्तिकै आँगनमै रामदासकी स्वास्नीले सुनाई, ‘खोजेर ल्यायो । बेकारमा मेरो मरदलाई दुख दियो !’
रामदासले स्वास्नीलाई आँखा तरेर हे¥यो ।
‘चुप !’, उसले हप्कायो, ‘भगवानले नेताजीलाई हेरेछन् र छोरी भेटिइछ । धन्य भगवान् !’
गङ्गाराम केही बोलेन । ओसारामा बसेर बिँडी फुक्न थाल्यो ।
त्यही साँझबाट गङ्गारामलाई बेतोडले ज्वरो आयो । घरका ओढ्ने त के बोरा ओढाउँदा पनि ऊ काम्न छोडेन । रातभर रामदास र उसकी स्वास्नीले भगवान पुकारा गरिरहे । उसलाई तातो पानी खुवाइराखे । गङ्गाराम घरी होसमा त घरी बेहोसमा जाने गरिरहेको थियो । एकपटक उसले आँखा खोल्दा रामदासले हात जोरेर भगवानसँग पुकारा गरिरहेको देख्यो ।
‘भगवानले गङ्गारामलाई हेर्दैन !’, रामदासकी स्वास्नी फुसफुसाउँदै गर्दा गङ्गारामको आँखा खुल्यो ।
‘दाजु, पानी दिनुस्’, गङ्गारामले हात फैलायो, ‘भगवानलाई मलाई नहेरी सुख हुँदैन !’
गङ्गारामले पानी पिएपछि रामदास सिटामोल लिन निस्केको छ ।
=====================================
कथा
बर्मेली दम्पती
घनश्याम ढकाल
“बाबु, एक पाथी चामल देऊ न ।” बुढी आमैले पसलेसँग अनुनयको स्वरमा भनिन् । उनले विकासे मलको बोराबाट बनाइएको मैलो झोला बोकेकी थिइन् ।
“पैसो छ कि छैन ?” बसेको ठाउँबाट नउठी पसलेले सोध्यो ।
“छैन बाबु ।” बुढी आमाका नजर तल झुके ।
“तिन चार हजार उधारो भइसक्यो, अब काँबाट दिनु ? मैले नि किनेरै ल्याउने हो ।”
“यत्ति छ, तिरम्ला नि चाँडै नै ।” उनले मैलो चोलाको खल्तीबाट दुई सय रुपैयाँ झिकेर पसलेको हातमा राखिदिइन् ।
“खोइ ! काँबाट ल्याएर तिछ्र्यौ ?”
“केही नलागे जग्गा बेचेर पनि तिरम्ला, तिम्रो पैसा खाएर मरम्ला त !”
“पैसा कमाउनेहरूले सहरबजार ताकिसके, त्यो पाखो कसले किन्छ ?”
“सबै सहरबजाराँ काँ जालान् र ? याँ बस्नेलाई जग्गा चाहिन्न र ? खसालेर लिन पाए तिम्ले नै लिने थियौ ।”
“लौ थाप ।” पसलेले चामल भरेर बुढीको झोलामा खन्याइदियो ।
“दुई पोका नुन देऊ न बाबु, मैले त भुसुक्कै बिर्सेकी ।”
“ए साँच्चै, तिमेर्लाई त सर्खारले पैसा दिएको छ रे नि त । जाँदैनौ लिन ?” नुनका पोका दिँदै पसलेले भन्यो ।
“हाम्लाई केको पैसा दिनु ?” बुढी आमाले अपत्यारिलो स्वरमा भनिन् ।
“हो मैले साँच्चै सुनेको हो । लडाइँका बेलाँ मरेकालाई दिएका छन् रे । अझ तिम्रा त छोरो र छोरी दुइटा... ।” पसलेले पछिल्लो वाक्य पूरा गरेन ।
छोराछोरीको प्रसङ्गले बुढीको छातीभित्र कसैले सियोले घोचेजस्तो भयो । भक्कानिँदै गरेको छातीलाई एउटा हातले बलपूर्वक थिचिन् र अर्को हातले झोलाको फिता टाउकोमा लगाइन् । उमेरले सत्तरी वर्ष काटिसकेकी थिइन् । कपाल सेतै फुलेको थियो । अग्लो कद हुनाले उनका हातखुट्टा मुरलीबाँसको लामो तरी जस्ता देखिन्थे ।
उनलाई चिनाउने गाउँघरको नाम थियो –बाटामुनिकी जेठी । उनका लोग्ने जेठो भएर नै उनी पनि जेठी भएकी थिइन् । जेठाको नाम जगतलाल थियो । उनी अहिले पचहत्तर वर्षका छन् । दुबै आँखामा मोतीबिन्दु हुनाले राम्ररी देख्न सक्दैनन् । बिस वर्षको उमेरमा उनी पैसा कमाउन भनी बर्मातिर गएका थिए । अर्को बिस वर्ष बिना चिठीपत्र त्यतै हराए । यता घरतिर दाजुभाइले आश मारिसकेका थिए र छुट्टीभिन्न हुँदा उनलाई अंश पनि राखेका थिएनन् । बिस वर्षपछि एक्कासि घर आउँदा एकातिर सबै दङ्ग परे भने अर्कातिर अंशवण्डामा खैलाबैला भयो । जगतलालका बारेमा अनेकथरि अनुमान गरिए । कसैले उनलाई बर्मामै स्वास्नी छोराछोरी छोडेर आएको भन्ने गर्दथे भने कसैले सरकारले लखेटेर आएको भन्दथे । ऊ आफैले भने त्यहाँको सरकारले नेपालीलाई बस्न नदिएको र कमाएको पनि केही ल्याउन नदिएको बताउँथे । त्यसैले होला, त्यतिका वर्ष बसे पनि उनले पैसो ल्याउन सकेनन् ।
२०१९ सालतिर जगतलाल नेपाल फर्केका हुन् । त्यतिबेला बर्माबाट धेरै नेपालीहरू लखेटिएका थिए । उताबाट आउनेलाई पुनर्वासका लागि तराईतिर जमिन पनि उपलब्ध गराइएको थियो । जगतलाल भने त्यता गएनन् र यतै आफूले अंशमा पाएको जग्गामै गुजारा गरेर बस्ने निधो गरे । अब उनी बाटामुनिका जेठाबाट बर्मेली जेठा भएका थिए भने बुढी बर्मेल्नी जेठी । यिनको खास नाम भने तुलसा थियो । उनी बालविधवा थिइन् । बर्मेली जेठाले कसैले भनेको सुनेनन् र विधवा विवाह गर्न हुन्छ भने तुलसालाई बिहे गरेका थिए । तुलसाले सात ओटा सन्तान जन्माए पनि आखिरको छोरो महेश र छोरी निरजा मात्र बाँचेका थिए । महेश जनयुद्ध सुरु हुनुभन्दा पहिले नै पार्टीको पूर्णकालीन कार्यकर्ता बनिसकेको थियो भने निरजा युद्ध सुरु भएको तिन वर्षपछि मात्र छापामारमा सामेल भएकी थिई ।
जगतलाल पहिले निकै खाइलाग्दो अग्लो जिउडाल र लाम्चो अनुहार भएका व्यक्ति थिए । अहिले भने बस्दाखेरि उनका खुट्टा सारसका जस्ता देखिन्छन् । आँखाको समस्या नभएको भए हिँडडुल गर्न अझै पनि दरा थिए । अहिले उनका घरमा कोही फर्कँदैन । छोराछोरी हुँदा आउने जाने मानिसहरूको लेखो हुँदैनथ्यो । उनी आफै फरासिला मात्र थिएनन्, विद्रोहका समर्थक पनि थिए । त्यसैले उनकै प्रभाव र प्रेरणाबाट छोराछोरी विद्रोहमा सरिक भएका थिए । आउने मान्छेहरू उनीबाट प्रभावित भएर फर्कन्थे ।
“म बर्माका करिन विद्रोहीहरूसँग काम गरेको मान्छे हुँ । उनीहरू मकहाँ आइरहन्थे ।” पार्टीका मानिसहरूसँग बर्मेली बुढाले भन्दथे र करिन छापामारहरूका अनेकौँ कौशलहरू सुनाउँथे । उनी माओका खुला प्रशंसक थिए ।
“राम्रो हो नि नयाँ जनवाद, चिनमा माओले ल्याएको । स्वदेशी र विदेशीहरूले कसैलाई चुस्न नपाउने व्यवस्था ।” जगतलाल भनिरहन्थे । “हाम्ले पनि त्यस्तै व्यवस्था ल्याउन खोजेको हो ।” बहसमा सरिक हुनेको जवाफ हुन्थ्यो ।
“आफ्नै किसिमले गर्न खोजे त सफल होला, चिनको नक्कल गर्न खोज्दा धेरै ठाउँका लडाइँहरू असफल भएर तुहेका छन् ।” बुढा सुझाव दिन पछि पर्दैनथे ।
पीडा भरिएको मन लिएर बुढी घर आइपुगिन् । झोला पिँढीको डिलमा राखेर आफू पनि थचक्क पिँढीमै बसिन् ।
“आइपुगिस् ?” खाटमा टुक्रुक्क बसेका बुढाले सोधे ।
“हो, आइपुगेँ ।” रुन्चे स्वरमा बुढीले भनिन् ।
“के भयो फेरि ? कि कतै लोटिस् र हो ?”
“केही भको छैन ।” यस बेला त बुढीको डाँको फुट्यो ।
“यसलाई आज अवश्य केही न केही भको छ ।” मनभित्र कुरा खेलाउँदै बुढी भएका ठाउँमा पुगेर बुढाले उनको टाउको मुसारे । बुढाको छातीमा टाउको राखेर बुढी झन् भक्कानिएर रोइन् ।
“भन् त भन्, के भयो ?”
“हाम्रो अवस्था देखेर रुन मन लागेको हो । अब त दुई छाक जुटाउन पनि गाह्रो हुन थाल्यो । तिमी आँखा देख्दैनौ, मेरो मनले हरेस खान थालेको छ । हिँड्दा गोडा लगलग काम्छन् ।”
बुढाको पौरुषयुक्त स्वर छुनेबित्तिकै लोझाउने लज्जावती झार झैँ लोझायो । उनको छातीमा के के बिझाए जस्तो भयो ।
“तँ भन्दा म अघि जान पाए त हुन्थ्यो नत्र भने...” बुढाका आँखाबाट बररर्र आँसु खसे ।
“बरु एकै पटक जान पाए ...” रुन्चे स्वरमा बुढीले भनिन् ।
“जस्तो भए पनि बेहोर्नुपर्छ, हेर्ने नभएपछि...” केही क्षण रोकिएर बुढाले फेरि अगाडि भन्न थाले–“अब त नातिनातिनाका औँला समातेर हिँड्ने बेला हो ।”
“त्यो त पुछिइसक्यो ।”
“अहिलेसम्म अलि अलि हातखुट्टा चल्दै छन्, चल्न छोडेपछि जे त होला ।” यसपटक बुढाले धैर्य बटुल्दै भने ।
“पार्टीले हेर्छ भन्थ्यो छोराले ।” घुँक्क घुँक्क गर्दै बुढीले पुराना कुरा सम्झिन् ।
महेश छँदै बा आमाका बारेमा कुरा नचलेको होइन । पटकपटक युद्धको परिणामका बारेमा पनि छलफल चलेको हो ।
“लडाइँको के भर हुन्छ र ? दुश्मनले फेला नपार्ने बेलासम्म मात्र हो, फेला पारेपछि...” एकपटक घर आउँदा महेशले बाआमासँग भनेको थियो ।
“त्यस्तो अलच्छिनी कुरो नगर बाबु ।” तुलसाले भनिन् ।
“यो सत्य हो आमा, त्यसलाई सहने क्षमता अहिलेदेखि नै विकास गर्नुपर्छ ।” महेशले सम्झायो ।
“तैँले यस्ता कुरा गर्छस्, हाम्रो के हालत होला ?” आमाले सुस्केरा काढ्दै भनिन् । छोराको माया मान्दै उनले उसको मृत्युको असहज कल्पना गर्न पुगिन् ।
“क्रान्ति सम्पन्न नहुने बेलासम्म सहिद परिवारलाई पार्टीले हेर्छ, त्यसपछि सरकारको दायित्व हुन्छ ।” उसले सम्झायो । यसो भन्दा त्यहाँ असजिलो मौनता छायो । केही बेरसम्म कसैले बोल्ने रुचि देखाएनन् ।
“पहिले त्यतिका मान्छे आउँथे पार्टीका, अहिले त खै ...?” बुढाले लामो सास ताने ।
“उतिबेला त छोरो थियो, छोरी थिई, तिनलाई कजाउन पाइन्थ्यो र पो आउँथे । अहिले किन आउँथे ? हामीसँग लिने फाइदा लिइसके । अब हामीसँग के छ र दुःख भन्दा । हामीले उनीहरूलाई खुवाउन पाल्न सक्दैनौँ ।”
“त्यसो भन्नु हुँदैन, जे भए नि छोराछोरीले रगत बगाएको पार्टी हो ।” बुढाले सम्झाउने प्रयास गरे ।
“अँ साँच्चै, लडाइँमा मारिएका परिवारलाई सर्खारले पैसा दिएको छ रे । दोकानदारले त्यसै भन्थ्यो ।” बिर्सेको कुरा सम्झे झैँ बुढीले भनिन् ।
“कहाँ दिएको रैच ?”
“जिल्लाको सिडिओकोमा ।”
“खै, कोसँग बुझ्ने ? त्यतै जानुपर्ला ।” जगतलालले भन्यो ।
भोलिपल्ट बिहानै बर्मेल्नी बुढीले खाना तयार बनाइन् । सात बज्दा नबज्दै तिनीहरू भात खाएर हिँडिसकेका थिए । घुर्मैलो देखे पनि जगतलाल फटाफट हिँड्न सक्दैनथे, बुढीको सहारामा हिँड्नुपथ्र्यो । बलियो मान्छेलाई त्यहाँबाट सदरमुकाम पुग्न दुई घण्टा लाग्दथ्यो । तर, ती दम्पती त्यसरी हिँड्न सक्दैनथे । उनीहरू सदरमुकाम पुग्न पूरा छ घण्टा लाग्यो । तिनीहरू जिल्ला कार्यालय पुग्दा एक बजिसकेको थियो ।
“यहाँ पीडितलाई सर्खारले सहायता बाँडेको छ रे ।” उनीहरूले त्यहाँको एउटा कर्मचारीसँग कुरा राखे ।
“हो, बाँडेको छ, तपाईँहरूको को के भएको हो ?” कुरा सुन्ने कर्मचारीले भन्यो ।
“हाम्रा छोरा र छोरी दुबै सर्खारबाट मारिएका हुन् ।” बुढाले बेलीबिस्तार लगाए ।
“ती मर्ने तपाईँका छोराछोरी हुन् भनेर नाता सम्बन्ध प्रमाणित गरेर आउनुपर्छ ।”
“महेश र निरजा हाम्रै छोराछोरी हुन् । हाम्ले ढाँटौँला त ? महेशलाई समातेर मारेका हुन् । निरजा बेनी हो कि कता हो मारिएकी हो ।” बुढीले भनिन् ।
“तपाईँहरूले भनेका कुरामा हाम्रो अविश्वास छैन तर तपार्इँहरूलाई हामी चिन्दैनौँ । न ती मारिएका व्यक्तिहरू तपाईँहरूका छोराछोरी नै हुन् भन्ने जानकारी छ । त्यसैले गाविसबाट ती मारिएको प्रमाणपत्र र नातासम्बन्ध प्रमाणित गरी लिएर आउनुपर्छ । तबमात्र पैसा दिन मिल्छ ।” कर्मचारीले फेरि पनि अथ्र्यायो ।
“जाऊँ त अब, मिल्दैन भनेपछि ।” बुढाबुढी त्यहाँबाट हिँडे । दिन ढल्कँदै गएको थियो । सिमसिम पानी पर्न थालेको थियो । बुढाबुढी ढुकुरको चल्ला रुझे झैँ निथु्रक्क भिजेर जाडोले लगलग काम्दै राती नौ बजेमात्र घरमा आइपुगे ।
अँध्यारोमा सुनसान उभिएको रित्तो घरले तिनीहरूलाई पर्खिरहेको थियो । जाडो कक्रक्क परेका हातले बुढी आमाले बल्लबल्ल साँचो खोलेर ढोका उघारिन् । त्यसपछि दुई हातले छाम्दै अँगेनामा पुगिन् । बिहान खरानीमा घुसारेको मुढोमा आगो ज्युँदै रहेछ । त्यसलाई ठोसेर आगो सल्काएर दाउरा हालिन् । एकैछिनमा आगो ह्वारह्वार्ती बल्न थाल्यो । भोकतिर्खा बिर्सेर बुढाबुढीले आगो ताप्न थाले ।
भोक र थकाइले ती दुबै आक्लान्त थिए । भोकले जति आत्तिए पनि झटपट उठेर खाने कुरा पकाउने ताकत कसैमा थिएन । अघिपछि बुढीले उज्यालैमा भात पकाउँथिन् । साँझ परेपछि जिउ त्यसैत्यसै भारी हुन्छ, उठ्नै सक्तिनथिन् । आज त झन् दिनभरि हिँडेर थाकेको जिउ, उठेर केही गर्ने आँट नै भएन । तैपनि नउठी हुँदैन । आफू मात्रै भए घुत्रुक्क पल्टन्थिन् । बुढाका आँखा बसेपछि उनलाई पस्केर खान दिने कोही भएन, न त एक खेप पानी ल्याइदिने मान्छे नै ।
“यिनै बुढा हुन् सहारा, यी पनि भएनन् भने...” बुढाको मायाले उनलाई केही शक्ति दियो । बिस्तारै हात टेकेर उठिन् । डालीमा कोदाको पिठो थियो । त्यसैको पुवा बनाइन् र नुन पिँधिन् । तिनीहरूले आज पुवा र पानीले छाक टारे ।
“भोलि सिफारिस बनाउन जान प¥यो ।” बुढाले भने ।
“त्यहाँ पनि के के झमेला लगाउने हुन् ।” बुढीलाई सिफारिस पाइएला भन्ने कुरामा विश्वास थिएन ।
“बुढी, मेरो त पेट काट्यो कटक्क, दिसा जान पर्ला जस्तो पो भयो ।”
“लौ मा¥यो, अँध्यारो छ, कसरी जाने हो ?” बुढीका मुखबाट एकाएक निस्कियो र तिनले फेरि भनिन्, “लौ हिँड ।”
अँध्यारोमा खुट्टाको सारले बुढालाई डो¥याएर चर्पीतिर लाँदै थिइन् । बाटो अग्लो कान्लाको डिलबाट थियो । बुढाका खुट्टा चिप्लिएर शरीरको सन्तुलन बिग्रियो । बुढीले धान्न सकिनन् र बुढा तल लड्न पुगे ।
“लौ न नि गुहार ! गुहार !!” हंसले ठाउँ छोड्यो र उनी जोडले चिच्याउन थालिन् ।
“ए, के भयो हँ ?” नजिकको छिमेकी बुढीको हारगुहार सुनेर आइपुग्यो ।
“बर्मेली बुढा लडेछन् ।” उसले अरूलाई बोलायो र सबै मिलेर बुढालाई माथि ल्याए । देखिने चोटपटक केही लागेको रहेनछ ।
सधैँ सबेरै उठेर यताउति गर्ने बुढा भोलिपल्ट बिहान अबेलासम्म पनि उठेनन् । बुढी आफ्नै धन्दामा थिइन् । उनी पकाउने तरखरमा लागिन् तैपनि बुढा उठेका थिएनन् ।
“थाकेका बुढा निदाउन् न ।” पहिला त उनले उठाउन चाहिनन् तर मन मानेन ।
“उठ्ने होइन ?” बुढालाई घच्घचाइन् ।
“म त उठ्न सकिनँ, देबे्र खुट्टो चलाउनै हुँदैन ।” कहराउँदै बुढाले भने । बुढीले हेरिन् – घुँडो सुन्निएको रहेछ ।
“हे भगवान् ! आँखा त यसै बसेका थिए, अब खुट्टा पनि नचल्ने भए ...” पार लगाउन नसक्ने विपत् आइलागेको देखेपछि बुढी अत्तालिइन् ।
“सन्चो हुन्छ औषधीमूलो गरेपछि ।” बर्मेली बुढाले बुढीलाई ढाडस दिए ।
“खै, केले औषधी गर्ने हो ? अनि कसले लगिदिन्छ ?”
“पिर नगर, घरगाउँको दबाई गरौँला ।” बुढा एक किसिमले ढुक्क थिए । उनी चार पाँच दिनसम्म ओछ्यानमै थलिए । उठेर दिसापिसाब गर्न जानसम्म पनि सकेनन् । भुईचम्पा पिँधेर बुढीले घुँडामा छापिदिइन् । घिउ खोजेर ल्याई सुप, चम्सुर र चौटाजोरको जरो मिसाएर पुवा बनाएर खान दिइन् । सात दिनपछि बुढा पहिला जस्तै हिँड्न सक्ने भए । बर्मेल्नीको मनमा खुसीको सीमा नै रहेन ।
“बाबु, हामीलाई महेश र निरजाको नाता प्रमाणित गरेको कागज बनाइदिनुप¥यो ।” बुढाबुढी दुबैले गाउँ विकास समितिको कार्यालयमा गएर सचिवसँग आग्रह गरे । सचिव भर्खरको युवा तन्नेरी थियो ।
“बर्मेली बा ! किन चाहियो सिफारिस ?”
“सर्खारले राहत दिन्छ रे ।”
“सिफारिस लगेर पैसा पनि झिकिसके, तपाईँहरूलाई खबर गरेनन् ?”
“गरेनन् बाबु, कसले लग्यो सिफारिस ?”
“तपाईँहरूकै बुहारी र जुवाइँले नि, अरू कसले लान मिल्छ र ?”
बुढाबुढी छाँगाबाट खसेजस्तै भए, केही बोल्न सकेनन् ।
“बिहे त भएको थियो, होइन र ?”
“भएको थियो ।”
“मृतकका सबैभन्दा नजिककालाई सहयोग गर्ने नियम छ । श्रीमान् श्रीमती नै अरूभन्दा नजिकका नातेदार हुन् । त्यसैले उनीहरूले नै सहयोग पाएका हुन् ।” सचिवले बुढाबुढीको चित्त बुझाउन खोज्यो ।
“पार्टीमै बिहे गरेँ, टाढा भएर बोलाउन सकिनँ, पछि बुहारी लिएर आउँछु ।” महेशले बाबुआमालाई खबर गरेको थियो । बिहेमा जान नपाएर बुढाबुढी दुःखित भएनन् बरु हर्षविभोर बनेका थिए । आफ्नो बिहे भएको एक वर्षपछि निरजाको पनि महेशले पार्टीभित्रै बिहा गरिदिएको थियो । बुढाबुढीले त न बुहारीलाई चिन्न पाएका थिए न जुवाइँलाई । कतैबाट पनि बच्चाबच्ची हुन पाएका थिएनन् । पछि जुवाइँले अर्को बिहा गरे र बुहारीले पनि । त्यसैले उनीहरूको खोजीनीति गर्न बुढाबुढीले जरुरी ठानेनन् ।
“उनीहरूले बिहे गरेपछि पनि हाम्रा छोराछोरीको नजिक भइराख्छन् कि क्या हो ?” बुढीको आक्रोश थियो ।
“पछि बिहे गरेको प्रमाण हामीसँग छैन ।”
“बेइमान कहीँका ! हाम्रा छोराछोरीको नाममा आएको पैसा लिने भएपछि त हाम्लाई पाल्न पनि त प¥यो नि ।” बुढीले फेरि भनिन् ।
“भो नकरा बुढी, छोराछोरीको ज्यान त गयो भने जाबो पैसा जसले खाए पनि खाऊन् ।” विरक्त भावमा बर्मेली बुढाले भने ।
“त्यसो भनेर कहाँ हुन्छ ? अन्याय मास्ने भनेर पो छोराछोरीले ज्यान अर्पेका हुन् । झन् उनीहरूकै नाममा अन्याय ?” बुढी पनि भावुक बनिन् ।
“सहिद र सहिद परिवार खोलो तरेपछिका लौरा हुन्, तिनरूलाई बिर्सन्छन् अरूले । हाम्रो बोली कहाँ बिक्छ र ? भो हिँड् जाऊँ घर ।”
दुबै बुढाबुढी गाविस कार्यालयबाट बाहिर निस्के । सचिवले उनीहरू गएतिर ट्वाल्ल परेर हेरिरह्यो ।
+++
दुई वर्ष अरू बिते । यस बिचमा पार्टीको तर्फबाट बर्मेली दम्पतीलाई भेट्न कोही आएनन् । कोही आउँछन् भन्ने आशा पनि उनीहरूले गरेका थिएनन् ।
पुस महिनाको पाहारिलो दिन थियो । बुढाबुढी आँगनमा बसेर घाम तापिरहेका थिए । त्यसैबेला एउटा युवक र युवती टुप्लुक्क आइपुगे ।
“नमस्कार बा, आमा । हामी महेश र निरजाका साथी ।” उनीहरूले आफ्नो परिचय दिए ।
“साथी रे !” बुढाबुढी एकछिनसम्म त अक्क न बक्क भए । बुढी आमैका नयनबाट आँसुका धारा बगे । बुढा पनि सुरुमा त थामिन सकेनन् । आगन्तुकहरू छोराछोरीका साथी थिए थिएनन् कुन्नि तर बुढाबुढीलाई भने धेरै वर्षपछि छोराछोरी घर फर्केर आएको जस्तो भयो ।
“नरुनोस् हामी पनि तपाईँहरूकै छोराछोरी हौँ ।”
“कहाँ छौ त आजभोलि ?”
“पार्टीमै छौँ ।”
“पार्टीले त सर्खार बनाएको, सबै मोजमस्तीतिर छन् रे नि त ।” बुढाले भने ।
“कोही मोजमस्तीमा पनि छन् तर हामीले पार्टीमै काम गरिरहेका छौँ ।”
“नपाएर त होला नि, पाएपछि कसले छोड्छ र?” बुढी आमाको भनाइ थियो ।
“त्यसो होइन आमा, हामी आफूले मात्र पाउने प्रयास गरेनौँ । जनक्रान्ति पूरा भएको छैन, सहिदका सपना बाँकी नै छन् । हामीले केही पाउनुभन्दा जनक्रान्ति सम्पन्न हुनुपर्छ । यो अभियान रोकिनु हुँदैन ।”
“अझै पनि मान्छे बाँकी रहेछन् ।” थोरै भए पनि बर्मेली बुढालाई सन्तोष लाग्यो ।
“बाबुहरू भोकै छौ होला ?” बुढी आमाले सोधिन् ।
“होइन आमा, हामीले खाएर आएका हौँ ।” महिलाले जवाफ दिइन् । बर्मेल्नीको मन हलुङ्गो भयो । कथंकदाचित भोकै छौँ भनेका भए उनीसँग खाना खान दिनका लागि केही थिएन ।
आगन्तुकले घरभित्र र बाहिर हेरे । जताततै फोहोरको डङ्गुर थियो । तिनीहरूले आँखाले केही सङ्केत गरे र युवतीले भनी, “आमा, हामीले घर सफा गर्छौँ है ।”
“भो पर्दैन, हाम्रा लागि किन दुःख गर्छौ ?” बर्मेल्नी बुढीको मुखले इन्कारीको भाषा बोले पनि मनले गरिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो । केटाकेटी भने काममा लागिसकेका थिए । उनीहरूले काम गर्न थालेपछि बुढी उठेर सघाउन खोजिन् तर ‘बस्नोस्, पर्दैन, हामी गर्छौँ’ भन्दै युवतीले रोकी । भित्र सफा गर्ने क्रममा तिनीहरूले भित्रका सबै भाँडाकुँडा हेरे । अन्नका नाममा चार पाथी जति कोदो थियो । चामलको गेडो थिएन । दुई माना जति पिठो हुँदो हो ।
युवकले बाहिर निस्केर कसैलाई फोन ग¥यो । युवतीले यताउति हेरेर दाउरा जम्मा पारी । साँझपख दुईजना अरू मानिस आए । तिनीहरूले चामल र खाने तेल ल्याएका थिए ।
“के खान्छौ बाबु हो, कोदो पनि पिसेको छैन ।” बुढी आमा फटफटिन थालिन् ।
“आमा, पिर नगर्नोस् । तपाईँ बस्नोस् । खाना हामी बनाउँछौँ । खर्चको व्यवस्था भइसकेको छ ।”
खाना खुवाइसकेपछि आगन्तुकहरूले तत्काल गर्नुपर्ने कामको विषयमा छलफल गरे । उनीहरूले घरनजिकै एउटा चर्पी बनाउने, दाउराको व्यवस्था गर्ने, कपडा धोइदिने कुरालाई प्राथमिकतामा राखे । अनि यहाँ पार्टी सेल बनाउनुपर्ने आवश्यकता देखियो । त्यसो भएमा सहिद परिवारको रेखदेख गर्न सहज हुन्थ्यो ।
भोलिपल्ट बिहानैदेखि तिनीहरू काममा जुटे । युवती कपडा धुनतिर लागी भने युवकहरू चर्पीका लागि खाल्डो खन्न थाले । खाल्डो खन्ने, त्यसलाई ढक्कन हाल्ने र मानिथ छाना समेत बनाउनुपर्ने हुँदा चर्पीको कामले तिन दिन खायो । चौथो दिन उनीहरूले खरबारीको एउटा रूख काटेर दाउरा बनाए । पाँचौँ दिनमा तिनीहरू त्यहाँबाट हिँड्ने तरखरमा थिए ।
“तपार्इँहरूसँग पार्टी छ, हामी छौँ, एक्लै नठान्नुहोला ।” हिँड्ने बेलामा एउटाले भन्यो ।
“महेशले त्यसै भन्थ्यो ।” बुढा भावुक भए ।
“अहिले बारीमा मकै रोप्नुपर्छ, खनजोत गर्न हामी आउँछौँ ।” अर्कोले भन्यो ।
“बाबुहरू आउँदै गर्नुहोला ।” बर्मेल्नी बुढीले भनिन् ।
“चिन्ता नगर्नोस्, आइरहन्छौँ, हामी फेरि सङ्गठित भएका छौँ ।”
“लौ त, हामी जान्छौँ, बस्नोस् है त । त्यस्तो अपर्झट केही परेछ भने यो खर्च गर्नुहोला ।” एउटा युवकले बर्मेली बुढाको हातमा एक हजारको नोट थमाइदियो ।
अनि तिनीहरू त्यहाँबाट बिदा भए ।
उनीहरूले आँगन छोड्ने बित्तिकै बर्मेली बुढाले तिनीहरूको छाया जस्तो आकृति पनि देख्न छोडे भने बर्मेल्नी बुढीले पर नछोपिने बेलासम्म तिनीहरूलाई हेरिरहिन् ।
=====================================
कथा
आदेश भित्रको पीडा
देविका तिमिल्सिना
सधैँको साँझझैं आज पनि म आफ्नो तिक्ततालाई मेट्न बाहिर निस्कन्छु । घामको मन्द तेज र डाँडामुनि छिप्न खोजेको सूर्यले मेरो मानसिक धरातलमा कताकता प्रभाव पार्दछ । म टोलाएर गणेश र जुगल हिमालका थुम्काहरूमा आँखा दौडाउँछु । त्यहाँ भिन्नै किसिमको रोमाञ्चकारी आनन्द भेट्छु म । त्यहाँ भन्दा उता के होला ? एकछिन भौगोलिक ज्ञान नै दिमागबाट हराएको अनुभूत हुन्छ । एकोहोरो जिज्ञासाले पिरोल्छ मलाई । मात्र यति थाहा छ, त्यो हिमाल हेर्ने मेरा आँखा पर्यटकहरूको दाँजोमा मात्र भिन्न थिएनन्; भरियाहरू र किसानहरूका आँखाका दाँजोमा पनि भिन्न थिए । यस प्रसङ्गमा म धेरै वर्ष अघिको एउटा घटनामा डुब्न पुग्छु । त्यो दिन सहरभरि दीपावली गरिएको थियो । मानिसहरू आआप्mना धुनमा थिए । आतसबाजी र भुइँचम्पाको उडानले झन् सहर गमक्क गम्केको थियो । सडकका विभिन्न ठाउँहरूमा स्वागत द्वारहरू थिए । सहरका सडक वरिपरिका रूखहरू रङ्गीचङ्गी बिजुलीका बल्बहरू बेरेर सिँगारिएका थिए तर त्यही ठाउँमा पाँच सात जना केटाकेटीहरू हातमा बोरा बोकेर यताउति रल्लिँदै भनिरहेका थिए— खोइ ! आज त सुत्ने ठाउँ पनि कहीँ छैन ।
मलाई थाहा छ, भोको पेट र नाङ्गो आङले हिमालको सुन्दरता र लालीगुराँसको रम्यतालाई अनुभूत गर्दैन । यद्यपि यस देशका मानिसहरूलाई हिमालको गौरवता र लालीगुराँसको रम्यतामा रम्नु पर्दछ भन्ने पाठ पढाइएको छ । यस्ता मूक भावुकताहरू नैसर्गिक आवश्यकता भन्दा परका कुरा हुन् । हामी तिनै भावुकताका बिच बाँचिरहेका छौँ । एउटा यथार्थ भन्दा पृथक जीवन भोगिरहेका छौँ । म यिनै कुरा मनमा खेलाउँदै बिच बजारमा पुग्छु ।
“आदेश माथिबाट आउँछ ! एउटा चुरोट छ कि ?” भन्दै लामो कोट लगाएको अग्लो कद, अनुहारमा झपक्क दारी, नाकको टुप्पामा खत, बलिष्ठ देखिने हातपाखुरा र तिलचामले कपालको मानिस मेरो सामु हात पसार्न आइपुग्छ । म त झसङ्ग नै भएँ । को हो ? किन यस्तो रूप र व्यवहार ? मानौँ ऊ माग्ने हुनै सक्दैन तर मागिरहेको छ चुरोट । म के सोचिरहेको थिएँ भन्ने पनि बिर्सें । कताकता डरको अनुभूतिले छोप्यो तर सम्हालिँदै मैले खल्तीबाट एउटा चुरोट झिकेर उसतिर हात बढाउँदै भनेँ— “हैन, के को आदेश ?”
उसले मेरो कुरो सुन्न नचाहे भैmँ गरी, मेरो हातको ठुटो चुरोटलाई थुत्त थुतेर सिङ्गो चुरोटमा जोड्यो । आकाशतिर फर्केर लामो सर्कोको धुवाँलाई बेफिक्रीसँग उडायो । मैले उससँग कुरा अगाडि बढाउन नै सकिनँ । उसको मानसिक स्थितिसँगको अबोधताले अल्मलिएँ । के गर्दा वा भन्दा ठिक हुन्छ म आपैmँले ठम्याउन सकिनँ वा जानिनँ । आपूmलाई अलि सम्हाल्दै उही प्रश्न दोहो¥याएँ— “हैन के को आदेश ? भन्नुस् न, के को आदेश भन्नु भएको तपाईंले ?
“यस्तो जाडो छ । घर छैन । पैसा छैन । छैन, छैन, छैन, केही छैन । हा ! हा ! हा ! छैन त के भो ?” उसले भृकुटी कच्याक्कुचुक्क पारेर खुम्च्यायो । मुख बङ्ग्यायो । एउटा अतिरिक्त उन्माद सल्बलायो उसको अनुहारमा । ऊ रिसाएको अनुभव गरेँ मैले तर ऊ बोली नै रह्यो— “अब मात्र म छु । माथि कोही छैन । माथिको आदेश पनि छैन । बडो आदेश दिनेहरू, मान्छे मार्न लगाउनेहरू कोही छैन, छँदै छैन ।” उसले आप्mना हातका पञ्जाहरू फिँजायो र सुँघ्दै भन्यो— “छ्या ! छ्या ! छ्या ! अभैm गनाउँदै छन् यी हातहरू ।” अब म साँच्चै डराएँ । यो मान्छेलाई छोड्न यताउता हेरेँ । बाटामा लम्पसार परेर मलाई जिस्क्याइरहेको ऊ भने आप्mनै धुनमा बोलिरहेको थियो— “अहँ ! अब मैले त्यसो गर्नु पर्दैन, अब पक्कै मैले त्यस्तो गर्नु पर्दैन । म आदेशको पञ्जाबाट भागिसकेँ । म मान्दै मान्दिनँ, खोक्रो आदेश ! ज्यान लिने आदेश !” उसका आँखाहरू एक्कासि रसाए । उसका शब्दहरूमा करुणाका भावहरू झल्किए र कताकता अपराध बोधले पोले भैंm गरी ऊ भुत्भुताई रह्यो— “बिचरो ! च्व ! च्व !! भगवान् ! तँ छस् भने मलाई माफ गर !! मैले मारेको होइन । आदेशले गरेको हत्या हो ! किन गन्हाउँछ मेरो हात !! सफा गर् भगवान् !! सफा गर् मेरो हात !!”
उसले मेरा दुबै छोटा छोटा कुममा हातले समात्यो र मेरो पीठमा आप्mनो अनुहार घुसारेर क्वाँ क्वाँ रुन थाल्यो । मेरो शरीर उसको बोझले लच्कियो । मानौँ ऊ आफ्नो शरीरको बोझ होइन, पीडाको बोझ मलाई थपिरहेको थियो र आपूm हलुका भई रहेको थियो । म भित्र भावुक मानवता जुर्मुरायो । डर हराएर गयो । उसको रुवाइ एकोहोरो चलि नै रह्यो । मभित्र उसप्रति स्नेह प्रवाहित हुन थाल्यो । केही सोधूँ सोधूँ र अझ उसका भावनामा एकाकार होऊँ होऊँ लाग्यो । तर अनायास उसले मेरा कुम समाएका दुबै हात झड्कारेर अगाडि हुत्याइदियो । दुबै हातले भुइँ टेकेर म अडिएँ । ऊ अगाडि भन्दै गयो– “किन मैले यो मान्छेलाई सवै कुरा भनेँ ? मलाई गोली हान्न आदेश दिने हाकिम नरेको अनुहार जस्तै छ यसको अनुहार । के तँ नरे होस् ? नरबहादुर खत्री, तँ होइनस् ! होइनस्!! तँ तँ इन्सपेक्टर भट्टराई अर्थात् मेरो गोली लागेर रगतपच्छे भएको विद्यार्थी जस्तै छस् । आइज ! म तँलाई माया गर्छु । मैले तँलाई मारेको होइन, आदेशले मारेको हो आदेशले ।”
उसले मलाई समातेर छातीमा टाँस्यो । “म मान्छे मार्ने इन्स्पेक्टर होइन । करुणा सागर भट्टराई हुँ । भन् बाबु एकचोटि ! इन्सपेक्टर भट्टराईले मान्छे मारेको छैन । आदेशले मारेको हो, एसपी नरबहादुर खत्रीको आदेश । मेरो सारा शरीरमा किन रगतको गन्ध आउँछ ? म यो गन्ध धुन चाहन्छु ।”
म मौन थिएँ । उसको अँगालोमा कसिएको अवस्थामा उसभित्रको मान्छेको पसिनाको गन्ध आइरहेको थियो । रगतको गन्धको आभासै भएन मलाई । मानौँ रगतको गन्ध त उसको शरीरबाट उडेर सिंहदरबार पसिसकेको थियो ।
===========================================
कथा
कठपुतली
पुण्य कार्की
“थुइक्क साला ! यस्तो पनि जागिर हो ?” भित्रबाटै घृणा र थकथकीको थुक सोहोरिएर ओठसम्म आउँछ, पिच्रिक्क थुकेर ओठका जुँगा मुसार्छ हल्दार टलक बहादुर । उसलाई आजभोलि सपना हो कि विपना हो, छुट्याउन गाह्रो परिरहेछ । उसलाई आजभोलि आफूले खाएको जागिरप्रति घृणा छ । महिनैपिच्छे आउने तलबप्रति पनि घृणा छ । यति चुत्थो भएर पैसा कमाउनु भन्दा गिटी कुटेर जहान छोराछोरी पाल्नु जाती हो भन्ने भावना उसको अन्तस्थलमा पटकपटक ननाचेको होइन तर पनि बाध्यताले ऊ जागिरमा घस्रिरहेको छ । पेसाप्रतिको आत्मिक निष्ठा र समर्पणको भाव पातलो पातलो हुँदै गएको छ ।
“आऽऽ ऽऽ मन नपरी किन खानु त यस्तो मुला जागिर ? छोडिदिनु क्या, अझै उमेर छ । दुबैजनाका पाखुरी दरा छन् । भोकै मरिने होइन । बाउबाजेले आर्जी दिएको पाखोरेखो छँदै छ, त्यसैमा पसिना पोखौँला, छोराछोरी पालौँला ।” हल्दारको दिग्दार लाग्दो भावदशा पढेर हल्दार्नीले भनिन् ।
“छोड्न पनि भाको छैन सानीकी आमा ।” अल्पभाषी बनेर हल्दार बोल्यो ।
“किन छोड्नु भाको छैन । जागिरबिनै गुजारा चलाउने कति छन् कति । मन नपरी नपरी यसैमा लिसो लागिरहनुपर्छ भन्ने के छ ?”
“हेर न, अब दुईवर्ष त बाँकी छ पेन्सन हुन । पेन्सनमा निस्किन सक्यो भने कम्तीमा यसो नुनतेलको गर्जाे टर्छ । दिनदिनै छोराछोरीको पढाइलेखाइमा लगानी गर्नुपर्ने दिन आउँदै छ । आवेगमा आएर छोड्नु पनि भाको छैन । फेरि यो जागिरप्रतिको वितृष्णा मेरो एकजनाको मात्र समस्या होइन । यो सबै जवानलाई भएको छ ।”
कोठामा हल्दार हल्दार्नीबिच अन्तरङ्ग संवाद चलिरहेका बेलामा एक जना प्रहरी जवान सट्ट पस्यो । उसको सामु तनक्क तन्किएर छिटोछिटो बोल्यो–“हल्दार साप, माननीय मन्त्रीज्यूको आकस्मिक सवारी हुने भो रे । ड्युटीको लागि सइ सापले अपर्झट बोलाउनु भा’छ ।” यति भनेर ऊ निस्कि पनि हाल्यो ।
अमिलो मुख लाएर ड्युटीको पोसाक भि¥यो । बुट पेटी कस्यो अनि लाग्यो थानातिर । त्यतिन्जेल जवानहरूको ठुलो जमात तम्तयारी अवस्थामा जुटिसकेको थियो । ऊ पनि त्यसमा सामेल भयो ।
नयाँ मन्त्रीको अनुहार हेर्न मान्छेको चौरमा भिड लागेको छ । नयाँमन्त्रीको विषयमा अनेकन चर्चा परिचर्चा चलिरहेको छ । “देउवा सरकारले नै यिनको टाउकाको तिस लाख तोकेको थियो अरे” एकजना सोझो गाउँले किसानले प्रतिक्रिया पोख्यो । यो सुन्नेबित्तिकै अर्काेले थप्यो –“यिनको टाउकाको मूल्य मात्र तोकेको हो र, स्कूल पढ्दै गरेकी यिनकी छोरीलाई पुलिसले कोठाबाटै थुतेर गोली हानेको थियो, यिनकी स्वास्नीलाई जेलमा चरम यातना दिएर राखेको थियो ।”
यस संवादमा तेस्रो व्यक्ति पनि सहभागी बन्दै बोल्यो– “यिनी पनि चानचुने मान्छे हुन् र ? दाङदेखि सतबरियासम्मका सैन्य ब्यारेक उडाइदिने व्यक्ति पो त । यिनको कमान्डिङमा सि.डि.ओ. समातिएनन् कि कर्नेल जर्नेल, डि.एस.पी. मारिएनन् कि यिनलाई साधारण मान्छे ठान्नुभएको छ ?”
मञ्चबाट उद्घोषकले अब छिट्टै नै मन्त्रीज्यूको आगमन हुँदै गरेको कुरा सूचित ग¥यो । यो सूचना पाएपछि चौरको एककुनामा चलिरहेको संवाद टुट्यो । सबैका उत्सुक आँखाहरू मन्त्रीको आगमन पथतिर एकोहोरिए । मझौला कदका मन्त्री मुसुमुसु हाँस्दै दुईटै हात हल्लाएर मञ्चतिर अगाडि बढे । जनसमुदायको करतल ध्वनिले उसलाई स्वागत गरिएको छ । मञ्चको मुखैमा तामाका घडामा फूलसहितको पानी भरिएको छ । उता नौमती बाजाको धुनले वातावरणलाई सङ्गीतमय तुल्याएको छ ।
मन्त्रीको अनुहार फूल र अबिरले करिब करिब पुरिएको छ । मालामाथि माला खप्टिएर मुख, नाक र आँखा छोपिन लागेका छन् । सहयोगीहरूको जमातले भिडको चापबाट मन्त्रीलाई बचाउन हातेसाङ्लो बनाएर घेरा दिएका छन् । त्यस घेरा बाहिर जनमुक्ति सेनाको सुरक्षाघेरा छ । त्यसपछि प्रहरी जवानहरूको घेरा कसिएको छ । त्यसै घेरामा छ, हल्दार टलक बहादुरको ड्युटी ।
बल्ल बल्ल मन्त्रीलाई मञ्चमा चढाएपछि सबैले सन्तोषको सास फेरे । मन्त्री नजिकै हल्दार टलकबहादुर बन्दुक ताकेर आफ्नो ड्युटीमा तैनाथ छ । ऊ आज विस्मित छ, चकित छ । सपना हो कि विपना हो छुट्याउन गारो परेको छ उसलाई । ए गाँठे कि म बहुलाएँ भन्दै आफैँलाई चिटिक्क चिमट्यो उसले । आफैँले चिमोट्ता पनि छालामा मज्जाले दुखेपछि आफू नबहुलाएकोमा ढुक्क भयो ।
ऊ अपलक नजरले मन्त्रीलाई हेरिरहेको छ । उसका आँखा, अनुहार, कपाल, नाक सबैसबै कुरा एक एक नियालेर हेर्छ । घरि मन्त्रीलाई हेर्छ, घरि भीडतिर आँखा सोझ्याउँछ । घरि आफ्नो सुरक्षा पोजिसनप्रति सतर्क हुन्छ । यस मान्छेलाई यति नजिकबाट देख्न पाएकोमा ऊ भित्र आश्चर्यको भाव मडारिएको छ ।
मन्त्रीको मुहारलाई हेर्दा हेर्दै ऊ अतीतको पोखरीमा झम्लङ्ग खस्यो ।
एघारबाह्र वर्ष अगाडिको समय । देश भीषण रूपमा युद्धतिर अग्रसर थियो । नेकपा माओवादीले सामन्ती राज्यसत्ताका विरुद्धमा सशस्त्र विद्रोहको घोषणा गरेको थियो । मान्छे मारिने क्रम दिन दुई गुना रात चौगुना बढेर गएको थियो ।
सरकार बनाउने र गिराउने खेलमा नेता र संसदीय पार्टीहरू यसरी लागे कि उनीहरूले नैतिकता र मानवताका सामान्य मापदण्डहरू पनि भुलिदिए । यसकालमा राजस्व छलेर सांसदहरूले पजेरो चढे । एक कार्यकाल चुनाव जित्ने बित्तिकै पेन्सन पाइने ऐन बनाएर राज्यकोषबाट राजनीतिको नाममा पेन्सन खान थाले । रातो पासपोर्ट तस्कर माफियाहरूलाई बेचेर पैसा कमाउन थाले । सुत्केरीले खाने औषधिका बिल बनाएर सांसदहरूले सुविधा लिन थाले । सांसदहरू खसीबोका झैँ किनबेच हुन थाले । सरकारका मन्त्रीहरू नै बिरामीको बहानामा थाइल्यान्ड उड्न थाले । सांसद र पार्टीहरू अनेकौँ विकृति र विसङ्गतिका अखडा बने ।
राष्ट्रिय राजनीतिका माहिर सत्ताधारी नेताहरू कमाउने, जमाउने, देशलाई लुट्ने, रातारात करोडपति बन्ने; महल, पजेरो, मोजमस्ती जोड्नलाई नैतिक अनैतिक कर्ममा प्रवृत्त भैरहेका बेलामा देशको ग्रामीण भेग भीषण वर्गद्वन्द्वबाट गुज्रिरहेको थियो । निरीह पुलिसलाई माओवादीसँग लड्न लाएर नेतागण काजुसँग ह्विस्की मस्त पिइरहेका थिए । विचरा गरिबका छोराहरूलाई पुलिसको जागिर निल्नु न ओकल्नु भएको थियो । जागिर नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाउको अनुहार तुल्य भएको थियो ।
यसै किचलीघानमा हल्दार टलकबहादुर पनि परेको छ । ऊ रुकुमको विकट गाउँको प्रहरी चौकीमा हल्दार छ । आतङ्ककारीलाई खोजीखोजी मार्नू, समात्नू र उनीहरूका आधारक्षेत्रहरू ध्वस्त गर्नू भन्ने आदेश छ । सोही अनुसार एकडफ्फा सुरक्षाकर्मीहरू गाउँ सर्चमा निस्किएका छन् । उनीहरूलाई आतङ्ककारीका टपटप नेताहरूका आकृति स्पष्ट भएका फोटो र हुलियाहरू पनि उपलब्ध गराइएको छ । त्यसमा पनि एकजना विशेष नेतालाई उनीहरूले खोज्नुपर्ने जिम्मा पाएका छन् । त्यो नेता आतङ्ककारी पार्टीको उच्च तहको दश जनाभित्र पर्ने नेता हो । उसको कार्यक्षेत्र या खेलखोर गर्ने एरिया भनेको टलकबहादुरको सुरक्षा क्षेत्र भित्रका गाउँहरूमा छ भन्ने सुराकी मिलेको छ । त्यस नेताको फोटोे त्यो टोलीका प्रत्येक जवानहरूलाई फोटोकपी गरेर उपलब्ध गराइएको थियो । उनीहरूको मूल टार्गेट त्यही नेतामाथि छ । उसलाई जसरी भए पनि फेला पार्न सक्यो भने आफ्ना फुलीफित्ता बढ्ने आश सबैले गरेका छन् । उनीहरू त्यो मान्छेलाई गिरफ्तारीमा पार्न या हत्या गर्न दिलोज्यान दिएर लागेका छन् । उनीहरूले बस्तीहरूभित्र पसेर एकएक घरका एकएक कुनाकानी, कोठाचोटा, गुवाली, कटेरा, परालका माच, खोस्टाको थुप्रो, कुनाउरोको ढेँडी आदिआदिमा छाप्छाप्ती गरिसकेका छन् । यस क्रममा कति निर्दाेष गाउँलेलाई उनीहरूले हकारपकार पारे, कतिलाई बन्दुकका कुन्दाले हिर्काए, कतिका जगल्टा लुछे; कतिका लुगा च्याते, भनी साद्धे छैन, कही साद्धे छैन । दयालु दिलको टलकबहादुर कतिपय कुरामा पछि सर्न खोज्छ । तर आफ्नो कमान्डरको आदेश अगाडि फेरि लत्याकलुतुक गल्छ ।
उनीहरूले पन्ध्रदिन भित्र सात ओटा गाउँ सर्च गरिसके तर त्यो मूल नेतालाई समात्न सकेनन् । उनीहरूको टिमले सर्चको रणनीति परिवर्तन ग¥यो । दिनभरि कतै लुकेर बस्ने, राती गस्ती बढाउने, गाउँ घेर्ने, मान्छे पक्रिने अनि पक्रिएका मान्छेलाई भरिसक्के नमारिहाल्ने । कोही घेरा तोडेर भाग्न खोज्यो, हतियारले नै प्रतिरोध गर्न थाल्यो भने मात्र । त्यसबाहेक आफूलाई चुपचाप पुलिससामु सुम्पिनेलाई गिरफ्तार गर्ने र सबै सङ्गठनात्मक गोप्य कुरा बकाउने, उसलाई आत्मसमर्पण गराउने, त्यो पनि नगरेमा अगाडिको कारबाही गर्ने ।
पुलिसले रातीका समयमा छापामार शैलीमा आफ्नो गतिविधि अगाडि बढाएपछि केही मानिस पक्राउ खाए तर पनि उनीहरूले खोजेको मान्छे भने फेला पर्न सकेका थिएनन् । एकदिन राती गाउँमाथिको जङ्गलमा बैठक चलिरहेको सूचना गाउँकै सुराकीबाट मिल्यो । टलकबहादुरको अगुवाईमा नौ दशजनाको सानो टुकडीलाई त्यहाँ पठाइयो । नभन्दै जङ्गलबिचको कालो ओडारमा लालटिनको मधुरो उज्यालो पोखिएको थियो । पुलिसहरूले चारैतिर घेरा हालेर फाइरिङ गरे । फाइरिङको आवाज सुनेपछि लालटिन निभाएर कटुवा पेस्तोल पड्काउँदै चुकघोप्टे जस्तो अँधेरो रातमा तिनीहरू तितरबितर भए । वरिपरि घना जङ्गल थियो । धेरै मानिस घेरा तोडेर जङ्गल पसे । एउटा मानिस भाग्ने क्रममा हल्दार टलकबहादुरको खुट्टामै अल्झ्यो । लामो कपाल पालेको त्यस मान्छेलाई आफ्नो खुट्टामा अल्झिने बित्तिकै उसले च्याप्प जुल्फी समायो । जुल्फी समातेर बन्दुकको कुन्दाले तीन कुन्दा हानेपछि प्रतिरोध गर्न छाड्यो । त्यसपछि अन्य जवानहरू पनि भेला भए । उनीहरूको हातमा भएको शक्तिशाली टर्च बालेर शिरदेखि पैतालासम्म नियाले । उसको आकृति देखेर उनीहरू खुसीले मखलेल भए । कारण उनीहरूले महिनौंदेखि खोजेको नेता फेला परेको थियो । उनीहरूले गोजीबाट फोटो निकालेर उसको अनुहारसँग दाँजी हेरे । फोटोको आकृति र उसको चेहरामा रत्तीभर फरक थिएन । आफूले चीरकालदेखि प्रतीक्षा गरेको सिकार मिल्दा पुलिसहरूको मुहारमा अपूर्व कान्ति छाएको थियो । उसलाई अलिअलि लात्तीमुड्कीले दोक्च्याउँदै हिँडाउन थाले ।
रातको निरव कालो सन्नाटाले धर्तीलाई नराम्रोसित छोपेको थियो । जङ्गल कटेर गाउँमा निस्किने बेलामा प्रहरी जवानहरूले नसोचेको घटना घट्यो । उनीहरू जङ्गलको भिरालो बाटो हिँडिरहेका थिए । गिरफ्तार गरेको मानिसलाई बिचमा घेरेर हत्कडी लगाएर हिँडाएका थिए । त्यहीबेलामा माथिबाट अन्धाधुन्ध बन्दुक फायरिङ हुन थाल्यो । प्रहरीहरूले यस्तो होला भन्ने सोचेका पनि थिएनन् । उनीहरूको पूर्व तयारी र सतर्कता पनि थिएन । अगाडि हिँड्ने एकजना जवानलाई एउटा गोली लागिहाल्यो । ऊ भुक्लुक्क ढलेपछि पछाडिका जवानहरू तलतिर हाम्फालेर भाग्न थाले । टलकबहादुरले गिरफ्तारमा परेको नेताको हत्कडी समातेको थियो । अँध्यारोमा उसको पनि सातोपुत्लो उड्यो । नेतालाई उम्किने अपूर्व अवसर मिल्यो । हात झट्कारेर ऊ एकातिर भाग्यो । टलकबहादुर अर्काेतिर भाग्यो । बिहान उज्यालो हुँदा प्रहरीहरू सबै कोही कहाँ कोही कहाँ पुगेर ज्यान जोगाएका थिए । एउटा साथी सख्त घाइते भएर लडिरहेको थियो । उनीहरूले समातेको नेता उम्केर आफ्नो सुरक्षित गन्तव्यमा पुगिसकेको थियो । टलकबहादुरले गहिरो सुस्केरा फाल्यो । बल्लबल्ल गिरफ्तारीमा पारेको मानिस उम्केकोमा ठुलो विस्मात थियो उसलाई ।
दर्शकदीर्घाबाट अचानक पररर बजेको तालीको आवाजले टलकबहादुर झसङ्ग बन्यो । स्मृतिको तरङ्गबाट वर्तमानमा आयो । आँखा मिचेर चनाखो भएको अभिनय ग¥यो । त्यतिन्जेल मन्त्री मञ्चमा भाषण दिन उभिसकेको थियो । उद्घोषकले मन्त्रीलाई मन्तव्यका लागि बोलाएपछि जनसमूहले करतल ध्वनिबाट स्वागत गरेको थियो । त्यही तालीले उसको अतीत स्मरणको शृङ्खलालाई बिचमै टुटाइदिएको थियो ।
ऊ यतिखेर अपलक मन्त्रीको मुहार हेरिरहेको छ । ‘काटीकुटी त्यही मान्छे हो । हिजो मैले समातेर पछारेको जुल्फीको झुप्पो पनि त्यही हो । आँखा, नाक, मुखमण्डल रत्तीभर फरक छैन ।’ उसको मन ऊसितै बात मारिराखेको छ । ‘गाँठे हिजो यही मान्छेलाई मार्न धुइँधुइँ खोजियो । आज यही मान्छेको सुरक्षाको लागि खट्नुपरेको छ । आज यही मान्छेलाई सलाम गर्नुपरेको छ । हाकिमहरूले हिजो यही मान्छेलाई मार्न, गिरफ्तार गर्न अराए । आज यही मान्छेलाई सुरक्षा गर्न आदेश दिन्छन् । अरुको आदेश मान्ने निरीह कारिन्दामात्र भइयो । आफ्नो नियतिप्रति पिचिक्क थुक्छ ऊ । कसैले मनको कुरा थाहा पाए कि जस्तो गरेर चनाखो पनि हुन्छ । मन्त्रीले भाषण सकेपछि लुरुलुरु टलकबहादुर मन्त्रीका पछाडि लाग्यो । उसलाई आफूले समातेर लडाएको जुल्फी हेर्न मन लाग्छ । त्यो निर्जन एकान्त वनमा, निस्पट्ट अँधेरी रातको निशान्त घडीमा घटेको घटनाले उसको मथिङ्गललाई बिथोलिरहेको छ । आफूले मार्नलाई खोजेको यही व्यक्ति कालान्तरमा मन्त्री बन्ला, त्यसकै सुरक्षामा अगिपछि गर्नुपर्ला । उसैलाई स्यालुट मार्नुपर्ला भन्ने कुरा सपनामा पनि सोचेको थिएन ।
टलकबहादुर आफूलाई मान्छे कम, कठपुतली बढी भएको अनुभूति गर्न थाल्यो । अर्काको इसारामा, अर्काको आदेश र लैलैमा आफ्नो विवेकशक्तिलाई बन्धक राखेर हिँड्नुपर्ने यस जागिरप्रति चरम वितृष्णा बोध भएको छ उसलाई । तर ऊ जागिर खानुपर्ने मजबुरीबाट घेरिएको छ ।
जुन दिन उसको जागिरले सोह्र वर्षमा टेक्यो । त्यही दिन बिहानै टलकबहादुरले हाकिमलाई राजीनामा पत्र चढायो । ऊ धेरै दिनदेखि आजकै दिनको प्रतीक्षामा थियो । बाह्रमा पुगेर बित्तामा के हार्नु भनेर ऊ पेन्सनको दिन रुङिरहेको थियो । आज ऊ प्रफुल्ल बनेको छ । राजीनामा दिएपछि स्वायत्तताको बोध गरेको छ । अब उसले आफ्नै विवेक र समझमा चल्न पाउने भएको छ ।
“पेन्सन हुनासाथ छोड्न लाग्यौ त टलकबहादुर । अरु दुईचार वर्ष जागिर खाँदा हुन्छ नि । अब त हिजोको जस्तो अप्ठ्यारो समय पनि छैन । सबैकुरा सहज बन्दै गएको छ ।” हाकिमले टलकबहादुरलाई सम्झाउने पाराले कुरा ग¥यो ।
“साप । अघाएँ जागिरदेखि । यो कठपुतलीको जागिरदेखि ।” अल्पभाषी टलकबहादुरको भाषा सायद बुझ्न सकेन हाकिमले । आश्चर्यको भावमा उसको मुखबाट एउटै शब्द निस्क्यो– ‘कठपुतली !’
टलकबहादुरले ‘हो साप !’ यत्ति भनेर स्यालुट हानेर बाहिर निस्क्यो ।
===========================================
कथा
बिलेकिया
श्याम साह
भन्सारमा पोस्टिङ भएको दोस्रो दिन नै सशस्त्र प्रहरीको हवल्दारले उसको सामान र साइकल दुबै खोसेर मेरो अगाडि ल्याएको थियो ।
तलबाट माथिसम्म नियालेँ । गहुँगोरो वर्णको भए पनि घामले डढेर निकै कालो देखिन्थ्यो । दुब्लो यति थियो कि उसका गाला भित्र धस्सिएर दाँत बाहिर आएको देखिन्थ्यो । लुङ्गीमाथि गन्जी लगाएको थियो । काँधमाथि गम्छा थियो । साइकल चलाएर होला, बेला बेलामा उसले गम्छाले आफ्नो पसिना पुछिरहेको थियो । फित्तावाला चप्पल लगाएको थियो । एउटा चप्पलको फित्ता चुँडिएको थियो र उसले त्यसलाई डोरीले बाँधेर काम चलाएको थियो । उसका कुर्कुच्चाहरू चिरिएका जस्ता देखिन्थे ।
‘के भो हवल्दार साब ?’
‘कुनैको पनि भन्सार काटेको छैन हजुर । काट्न भन्दा मानेन । अनि यता ल्याएको ।’
लेनदेनको हिसाब नमिलेर यहाँ ल्याएको हो भन्ने बुझ्न खासै गाह्रो भएन ।
‘नाम के हो भाइको ?’
‘जितन माझी ।’
‘के छ यसमा ?’
‘चिनी र तेल छ हजुर ?’
‘अनि यसको भन्सार काट्नु पर्छ भन्ने थाहा थिएन र ?’
‘गाउँमा भोज छ हजुर, त्यसैको लागि लगेको ।’
सबै बिलेकियाहरूले दिने उत्तर नै यही हो । यही सामान बेचेर उनीहरू फाइदा गर्छन् । त्यही फाइदाबाट उनीहरूको गुजारा चल्छ ।
‘छोड्दिनुस् यसलाई ।’
‘हजुर सर ?’
मेरो कुराले हवल्दारलाई झड्का जस्तै लाग्यो । समातिएको सामानको लिलामीबाट निश्चित कमिसन पनि पाउने हुन्छ उनीहरूले । त्यसैले उसको प्रतिक्रिया स्वाभाविक थियो । जितन माझीको अनुहार भने उज्यालो भयो । तर त्यतिन्जेलसम्म म उनीहरूको प्रतिक्रिया हेर्न म बसिनँ ।
करिब एक घण्टा जति भएको थियो, म आफ्नो अफिसको.कोठामा बसेको । कसैले ढोका ढकढकाएको थियो । मेरा अफिसका स्टाफहरू कसैले पनि ढोका ढकढकाउँदैनन् । यसरी ढोका बजाउने नयाँ र बाहिरका नै हुने गर्छन् ।
‘खुलै छ । आउनुस् ।’
हात जोडेर जितन माझी भित्र छि¥यो । मैले केही भन्नु भन्दा अगाडि नै उसले पसिनाले भिजेको सयको पुरानो दुई ओटा नोट मेरो टेबलमा राख्यो ।
‘के हो यो ?’
मलाई रिस भन्दा पनि बढी झर्को लागेको थियो । यस प्रकारको अवस्थाको मैले कल्पना समेत गरेको थिइनँ ।
‘मैले प्रत्येक खेपको यति दिन्थेँ हजुर । उहाँलाई पनि यति दिन खोजेको त पाँच सय माग्नु भयो । त्यति त हाम्रो फाइदा नै हुन्छ हजुर । अनि यतिको रिस्क र मेहनत केका लागि ? यति मात्र भनेको के थिएँ समातेर ल्याइहाल्यो हजुर । अर्काको भाग खान जानेको छैन हजुर । त्यसैले यो ल्याइदिएको ।’
सबै कुरा सिस्टममा चलेको छ यहाँ । शोषण सिस्टममा छ । भ्रष्ट्राचार सिस्टममा छ । मलाई थाहा छ, उसलाई त्यत्तिकै छोड्नुको अर्थ राज्यको राजस्व छोड्नु हो । ल्याएको एक बोरा चिनी र एक टिन तेलबाट उसले बढीमा हजारदेखि पन्ध्र सय कमाउँछ । यसैबाट उसको र उसको परिवारको जीवन चलेको छ । ऊ जस्तै पचासदेखि साठी परिवारको जीवन यसरी नै चलेको छ ।
‘तिमी जस्तो यस जिल्लामा मात्र पचासदेखि साठी जना छौ यस्तो काममा । प्रत्येकले दिनमा पाँच सयदेखि हजारसम्म राजस्व छलेर हिँड्छौ । सामान्य हिसाबले पनि हेर्दा तिमीहरूले सरदर महिना पच्चिस तिस लाखको राजस्व छलेका छौ । थाह छ, यो कति ठुलो अपराध हो ?’
केही क्षण बोलेन ऊ । गम्छाले फेरि उसले पसिना पुछ्यो ।
‘मेरो घर यहीँ कमलावाडी हो हजुर । यो बाटो प्रत्येक रात पाँचदेखि दस ओटा ट्रक पास हुन्छ । मलाई लाग्दैन कि राती तपाईंहरू भन्सार काट्नु हुन्छ । म त पढेलिखेको मान्छे होइन हजुर तर प्रत्येकमा करोडौँ माल जान्छ । अब त्यसबाट कति राजस्व मासिन्छ आफै हिसाब गर्नुस् । एउटा कुरा भनूँ साब ? ती सबै ट्रकको अगाडि पछाडि पुलिस हुन्छ । अब कहाँ कहाँ सेटिङ हुन्छ त्यो त हजुरलाई नै थाह होला ।...’
ऊ फेरि एक क्षण चुप लाग्यो र मेरो अनुहार नियाल्यो ।
‘...छोटी मुह बढ्का बात भए जस्तो छ हजुर, माफ गर्नु होला । ...’
‘चिया खान्छौ ?’
ऊ झस्क्यो । सायद भन्सार कार्यालयको हाकिमले एउटा बिलेकिया जो साइकलमा सामान ओसारपसार गरेर आफ्नो जीवनयापन गर्छ, उसलाई चिया सोध्नु अपत्यारिलो लाग्यो होला । तर ऊ भन्दा बढी म आफै झस्केको थिएँ । किनकि एउटा सामान्य मानिस जसले स्कुलको मुख देखेको छैन, पाँच सय कमाउन आफ्नो जीवन धरापमा राख्छ, जसका कारणले ऊ जेल पनि जान सक्छ तर उसले करौडौँको तस्करीको जानकारी राख्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आफै संलग्न हुन सक्ने कार्यालयको कार्यालय प्रमुखलाई हाकाहाकी मुखमै भन्ने आँट राख्छ ।
उसले केही बोलेन । यति काफी थियो । मैले घण्टी थिचेँ । अफिसको पिउन रामचन्द्र भित्र आयो । उसको आँखा जितन माझीमाथि प¥यो ।
‘तु यत कथि करैछी रे ?’ रामचन्द्रले उसलाई देख्ने बित्तिकै हप्काउँदै सोध्यो । ऊ केही बोल्न सकिरहेको थिएन ।
‘मैले हो बोलाएको । दुई कप चिया ल्याइदिन सक्नुहुन्छ हाम्रो लागि ?’
अब झस्कने पालो रामचन्द्रको थियो । बडो सकस भए जस्तो थियो उसलाई । त्यसपछि घुरेर जितन माझीलाई हेर्दै ऊ त्यहाँबाट निस्कियो ।
‘हजुरका अगाडि रामचन्दर भए पनि हाम्रो त रामचन्दर मालिक हो । हेर्नुभएन कसरी खाउँला झैँ हेर्दै थियो मलाई ? पूरै सैतान आदमी हो साब । इन्सानियत नामको कुनै चिज छैन । यसले साब एक हजारमा मेरो स्वास्नीको सोह्र भरीको हौसली बेइमानी गरिहाल्यो । छोरा बिरामी हुँदा एक हौसली राखेर एक हजार लिएको थियो । त्यसैलाई उसले दश हजार बनाइ दियो साब । ...’
‘अनि प्रहरीमा खबर गर्नुपर्दैन । गाउँका जान्ने सुन्ने बोलाए पनि त हुन्थ्यो ?...’
‘गाउँमा जान्ने, बुझ्ने त एउटा उही हो साब । सबैले उसबाट कर्जा खाएको छ । थाना प्रहरी पनि हाम्रो कहाँबाट हुनु ? ...’
त्यसै बेला रामचन्द्रले चिया लिएर आइपुग्यो । जितनका अगाडि ऊ त्यसरी आउँदा उसको अनुहार रातो भएको थियो । त्यसपछि धेरै कुरा गरिनँ मैले । चिया खाएपछि ऊ हिँडेको थियो । त्यसपछि रामचन्द्र उसले केही भन्यो कि भनेर सोध्न आएको थियो । मैले खासै केही भनेको छैन भनी टारँे ।
..........
त्यसको केही दिनपछि नै अनुसन्धानको एक जना प्रहरीले दुई ट्रक माल भन्सार नकटाइकनै पास भएको जानकारी गरायो । यसरी पास हुने गाडीहरूमा हाम्रै नाकाका कर्मचारी तथा प्रहरीको मात्र नभई माथिसम्मको मिलिभगत हुन्छ । मैले तत्काल सिडिओलाई खबर गरेर छापा मार्न जानुपर्ने कुराको जानकारी गराएँ ।
त्यसपछि लगत्तै ट्रक भएको ठाउँमा पुग्दा प्रहरीले ट्रकलाई घेरा हालिसकेका थिए । ट्रकलाई भन्सार कार्यालय लग्ने बित्तिकै धेरैका फोन आउन थाले । मैले मोबाइल स्विच अफ गरँे । ल्यान्डलाइन फोनको रिसिभर हटाइ दिएँ । त्यसपछि ट्रकलाई सिधै राजस्व अनुसन्धान कार्यालय इटहरीतर्फ प्रस्थान गराएँ ।
साँझ मात्र मोबाइल अन गरेँ । त्यसपछि पनि फोन आउन थाल्यो । विभागबाट पनि फोन आयो । त्यहाँ एक मन्त्री र केही सभासदहरूको फोन आयो । सायद ठुलै गिरोह सञ्चालन गर्नेको सामान परेछ । प्रोत्साहन गर्नुपर्नेमा उल्टै सोचविचार गरेर काम गर्ने निर्देशन प्राप्त भयो ।
जागिर खान थालेदेखि नै भ्रष्ट्राचारको सिस्टम देखेर एक प्रकारको बिरक्ती सुरु भएको थियो । त्यस घटनाले मेरो बिरक्तीलाई झन् बढाएको थियो । त्यति धेरै आदर्शवादी होइन म । त्यसैले पुरै सिस्टममा कायापलट ल्याउँछु भन्ने सपना देखेर त्यो काम मैले गरेको पनि होइन । बस्, मेरो नाकैमुनि त्यस्तो घटना घट्दा देख्न नसकेर प्रतिक्रिया मात्र जनाएको थिएँ । तर त्यसको पनि यति धेरै प्रतिक्रिया आउन थाले पछि मेरो बिरक्ती झन् बढेको थियो ।
....
त्यसको केही समयपछि दोस्रो मधेश आन्दोलन सुरु भयो । टीकापुर घटनाले राज्य संयन्त्र स्तब्ध भएको थियो, जसको प्रत्यक्ष असर पूर्वतर्फको आन्दोलनमा देखियो । दमनमा एक प्रकारको प्रतिशोधको भावना प्रत्यक्ष देखिन्थ्यो । त्यसको तुलनामा सिराहामा भने क्षति कम देखिएको थियो । यसको प्रमुख कारण प्रमुख जिल्ला अधिकारी नै थिए । दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न प्रहरी प्रमुखहरूले गरेको प्रस्तावलाई उनले मानेनन् । प्रहरी प्रशासनलाई संयमित नै राखे । सेनाको रासन बोकेको ट्रक दुर्घटना बाहेक अरू खासै कुनै अप्रिय घटना घटेन ।
आन्दोलनको सुरुवातसँगै भन्सारको काम पनि ठप्प भएको थियो । त्यसपछि अफिसको तनाव घटे पनि घरको तनाव बढेको थियो । तस्कर नियन्त्रण गर्ने निकायका कर्मचारी आफै पनि तस्करबाट ग्यास, पेट्रोल तथा अन्य सामान आपूर्ति गर्न अभिशप्त भएका थिए । अफिसको काम खासै हुँदैनथ्यो । नियमित बैठक बाहेक अरू कामै थिएन ।
बिहान घुमेर फर्कंदा माडर चोकको चिया पसलमा केही क्षण बस्ने नियमित क्रियालाप नै थियो । यदि तराईको राजनीति बुझ्नु छ भने चोकचोकमा हुने चिया पसल भन्दा अर्को कुनै राम्रो ठाउँ छैन । केही दिन अगाडि मात्र बरमझियामा प्रहरी र आन्दोलनकारी बिचको भिडन्तमा केही मानिस मारिएका थिए । त्यसले आन्दोलन झन चर्केको थियो । त्यस दिन माडरचोकमा बिहानैदेखि टायर बालिएको थियो । बिस पच्चिस जना बिहानदैखि प्रदर्शनमा थिए । त्यहाँ मैले जितन माझीलाई फेरि देखेँ ।
त्यसले फेरि मलाई अचम्मित बनाएको थियो । खासमा बिलेकियाहरूलाई कमाउने त्यो सुनौलो अवसर थियो । खास गरी ग्यास र पेट्रोलमा भएको कालोबजारीका कारण त्यसको भाउ आकासिएको थियो । साइकल चढनेहरू मोटर साइकलमा काम गर्न थालेका थिए । तर जितन भने उही पुरानै हुलियामा थियो । यस पटक भने उसको काँधमा गम्छा थिएन । तर अर्को चप्पलको फित्ता पनि डोरीले बाँधिएको थिया ।
‘ओ जितनजी ! कि छै खबर ? ’
मैले मैथिलीमै उसलाई बोलाएँ । अनि ऊ झसङ्ग भएर मतिर हे¥यो । एकक्षण अलमल प¥यो । अनि हाँस्यो ।
‘नमस्कार सर !’
‘ल आउनुस् । चिया खाऔँ ।’
ऊ चारैतिर अप्ठ्यारोसँग हे¥यो र लजाउँदै आयो । त्यो भन्दा पहिला भिडसँग केही भन्यो । सायद मेरो परिचय दियो होला । सबैले एकपटक मतिर हेरेका थिए ।
‘अनि कमाउन छोडेर कहाँ आन्दोलनमा हिँडेको त ? ...’
खासमा मैले उसँग सोधेको होइन । उसलाई जिस्काएको थिएँ । तर ऊ जिस्किएन र गम्भिर भएको थियो ।
‘त्यो त गद्दारहरूले गरेकै छ नि सर । यसमा हजुरहरूलाई त खुसी लाग्छ नै । ’
म उससँग जिस्केको थिएँ तर खुसी भएर होइन । खासमा म एकदमै दुविधामा थिएँ । म मात्र होइन पूरै राज्य द्वैध अवस्थामा हिँडिरहेको थियो । खासमा हामी त्यस समयमा बाँचिरहेका थियौँ, जहाँ देशको आधा जनसङ्ख्या दीपावली मनाइ रहँदा आधा जनसङ्ख्या शोकसन्तप्त थियो । राष्ट्रियताको परिभाषा फराकिलो बनाऔँ ता कि हाम्रो राष्ट्रियता पनि त्यहाँ अटाउन सकोस् भन्ने माग गरेको जनसंख्यालाई बेवास्ता गरी अमूक शत्रु देखाएर त्यसलाई राज्यको मूलधारबाट किनारीकृत गर्न राज्य स्वयं उद्दत भएको समय थियो त्यो । खासमा आफ्नै देशका नागरिकहरूलाई एक अर्काका विपक्षमा उभ्याएर बिचमा विभाजनको रेखा कोरिएको बेला थियो त्यो, जसलाई केहीले राष्ट्रिय स्वाभिमानको आन्दोलन भनेका थिए । खासमा आप्mनै देशका नागरिक चोर, तस्कर र हत्यारा हुँदा पनि त्यसका पक्ष र विपक्षमा लागेर बाझ्ने समयमा थियौँ हामी, जसको एकापट्टि म थिएँ, अर्कोतर्फ जितन माझी थियो ।
मैले जितनलाई अलि बेरसम्मै कुरा गर्छु भनेर बोलाएको थिएँ । तर मेरो जिस्क्याइ र उसको प्रतिक्रियाले वातावरण गरुङ्गो भएको थियो । अझ म त सरकारी तलब खाएर बसेको मान्छे, धेरै बोल्नु पनि ठिक थिएन । जितनको चियाको पैसा दिएर म चाँडै निस्केको थिएँ ।
हुन त भएको केही पनि थिएन । म मधेश आन्दोलनलाई मजाक बनाएर उससँग जिस्केको थिएँ र ऊ अलि झर्केको थियो । तर उसको अलिकति झर्काइले मलाई बेचैन बनाएको थियो । यो त्यस्तै प्रकारको बेचैनी थियो, जुन मधेश आन्दोलनले राज्यलाई पारेको थियो । त्यो घटनापछि जितनलाई भेटेर कुरा गर्ने हुटहुटी ममा झन् बढेको थियो ।
....
जितनलाई भेटन रामचन्द्रलाई लिएर उसको घर पुग्दा उसको घरमा घोँघी पाकेको थियो । जितन आफै कुटाइ खाएर थला परेको थियो । अचम्म के थियो भने ऊ आन्दोलनमा कुनै प्रहरीको कुटाइ खाएर थला परेको थिएन । साइकलमा सामान ल्याउँदा बसपिटामा आन्दोलनकारीहरूले नै उसलाई कुटेका थिए । यो कुरा रामचन्द्रले भनेपछि नै म उसकोमा आएको थिएँ । आँगनमा थियो उसको साइकल । जसको अगाडिपट्टि रिम सहित टायर भाँचिएको थियो । असोरामा राखिएको चौकीमा पल्टेको थियो ऊ । हामी पुग्दा दुखाइले कहराउँदै उठेको थियो । दुबै हात जोडेर नमस्ते गर्न समेत उसलाई सकस परेको थियो । जाँदा एक किलो स्याउ र एक किलोको हर्लिक्स बोकेर गएको थिएँ ।
‘जो त बेटा, सर सबके लागि कल से चलाके पानी लक आ त ।’
छेउमा छ सात वर्षको केटा थियो । उसको छोरा । ऊ बिस्तारै उठ्दै छोरालाई अह«ायो । रामचन्द्रले स्याउ र हर्लिक्सको डब्बा जितनतिर तेस्र्यायो ।
‘के जरुरी थियो सर, यो बेकारका चिजको ?’
उसले त्यो पोका चौकीमा राख्यो र स्वास्नीलाई लैजानका लागि डाक्यो ।
‘खा ! तागत आउँछ । पूरै पाँच सयको हो । बेकारको भन्छ ।’
रामचन्द्रले उसलाई हप्काउँदै भन्यो । जितन मेरो अनुहारतिर हे¥यो र फिस्स हाँस्यो ।
‘पाँच सय त सर, मेरो पूरै दिनको कमाइ हो । अब त्यसको त हाम्रो औकात कहाँ छ ? हाम्रो तागत त्यो घोँघीबाट आउँछ । एक घण्टा पोखरीमा भिजेर एक हन्डी ल्याएकी छे मेरी स्वास्नीले । सर पनि खाएर जानु होला ।’
‘सर गफ गर्दै बस्नुस्, म घर पुगेर आउँछु ।’
सायद जितनको घरमा मैले खाएपछि उसले पनि खानुपर्छ भनेर होला, रामचन्द्र तर्सेर उठ्यो । त्यहाँबाट हिँड्न खोज्यो । मलाई पनि जितनसँग उसको अगाडि भन्दा एक्लै खुलेर गफ गर्न सकिन्छ भन्ने लाग्यो, मैले रामचन्द्रलाई रोकिनँ ।
‘अनि खुब आन्दोलनकारी भइटोपलेका थियौ । कुटाइ चाहिँ कसरी खाइयो त ?’ मैले जिस्काएरै सोधेँ तर यस पटक ऊ रिसाएन । लजाएर हाँस्यो ।
‘मैले कुटाइ खाएको होइन, खुवाइएको हो सर । अलि पर घर छ उसको । तेल तस्करी गथ्र्यो । केही दिन अगाडि मैले चोकमा गाली गरेको थिएँ । त्यसको बदला लिएको हो उसले । सारस्वरमा एक जनाको सराद्धको भोज थियो । त्यसैको सामान ल्याउँदै थिएँ । उसैले ढुकेर गर्न लगाएको हो ।...’
त्यही बेला उसकी स्वास्नी थालभरि घोँघी लिएर आई ।
‘अहाँ खुब नेता बनल फिरु । उल्टे माइरो खाऊ । लोक कमाक नेहाल भगेलै ।... ’
ठुलै गुनासो थियो, उसकी स्वास्नीको उससँग । तर त्यसले उसलाई केही फरक पार्दैनथ्यो ।
‘कमाइएक कथि कलेलकै त ? आइगोमे जैर गेलै किने ?’
यो उसको आफ्नै सम्झाउने तरिका थियो । खासमा एउटा तेलको तस्करी गर्नेले घरमा दुई सय लिटर पेट्रोल राखेको थियो । राती अलि पर राखेको डिबियाबाट आगो सल्केको थियो । पूरै घर जलेको थियो । त्यस बेला घरभित्र कोही थिएन । त्यसैले मानवीय क्षति हुन पाएन ।
‘त कहाँ सबके घरमे आइग लैग गेलै ?’
तर जितनको त्यस्तो तर्कले काम गरेन । अनि रिसाएर उसतिर हे¥यो ।
‘आव खाइयो देबही कि कपारे प बैठबी ।’
त्यसपछि ऊ बोलिन । ठुस्केर हिँडी । खासमा दुबैको वार्तालाप रमाइलो नै लागिरहेको थियो । तर ऊ हिँडेपछि हामी घोँघीमा केन्द्रित भएका थियौँ । मैले घोँघी कहिल्यै खाएको थिइनँ । खासमा यो हेर्दा शङ्खे किरा जस्तो नै थियो तर निकै सानो । खान मिल्ने कुरा त यसको खोलभित्र थियो । जसलाई जितनले मुखले चुसेर तान्थ्यो । मैले पनि त्यसरी नै तान्न खोजेँ । घोँघी त तानिएन तर त्यसभित्र भएको सुकेको खुर्सानी मसला भने मेरो घाँटीसम्म पुग्यो । नराम्ररी सर्केको थियो । पछि सम्म पिरो भइरह्यो । जितनकी स्वास्नीले एउटा सिन्का ल्याएर दिई । पछि त्यसैले झिकेर खान थालेँ ।
...
हामी खाइरहँदा जितनको बुवा आइ पुगेको थियो । रक्सीले टिल्ल थियो । असोराको चौकीमा सबैभन्दा पहिला मलाई हे¥यो अनि छोरालाई । हाँस्यो । बुढाका माथिका बिचका दाँत थिएनन् ।
‘बुझ्ले बेटा , जब तक मधेश अजाद न हेतौ तब तक यहा घोँघी मात्रे नसिबमे रहतौ ।’
म ट्वाल्ल परेर बुढाको अनुहार हेरेँ । अनि जितनको अनुहार हेरेँ । ऊ मतिर हेरेर हाँस्यो ।
‘केही दिन अगाडि सिके राउतका कार्यकर्ताहरू यता आएका थिए । त्यस बेलादेखि बुढा यस्तै हो । खै के घोलेर खुवायो । अलिकति पनि रक्सी खाने बित्तिकै उनीहरूले पढाएको सबै ओकल्न थालिहाल्छ ।’
खास गरी आन्दोलन लम्बिन थालेपछि बोर्डर छेउका गाउँहरूमा सिके राउतका कार्यकर्ताको गतिविधि बढिरहेको थियो । तिनका गतिविधिहरू पृथकतावादी नै थिए । फरक कति मात्र थियो भने उनीहरूले हतियार उठाएका थिएनन् । मधेश आन्दोलनप्रति राज्यको बेवास्ता, मधेश केन्द्रित दलहरूको अलोकप्रियताले उसलाई भने लोकप्रिय बनाइरहेको थियो । यस बिचमा उनीहरूले दक्षिण भेगको एउटा गाउँमा नमुना जनमत सङ्ग्रह पनि गराएका थिए ।
नभन्दै बुढाले खल्तीबाट सिके राउतको अपिल भएको पर्चा झिक्यो । सायद आज पनि ऊ उनीहरूसँग भेटेर आएको थियो ।
अपिल हिन्दी भाषामा थियो । जहाँ मधेशलाई उनीहरूले नेपाल राज्यको उपनिवेशका रूपमा चित्रण गरेका थिए । हामी जस्ता कर्मचारी, प्रहरी, तथा राज्यका संयन्त्रलाई फिरिङ्गी भनेर सम्बोधन गरिएको थियो । खासमा नेपालको असमावेशी राज्यको चरित्रलाई राम्रैसँग अतिरञ्जित गरी प्रयोग गरेका थिए उनीहरूले । अझ मधेश आन्दोलनप्रतिको बेवास्ताले उनीहरूको अतिरञ्जनालाई मलजल गरिरहेको थियो ।
‘...एउटा कुरा भनूँ सर ?...’
खासमा कुनै गम्भिर कुरा गर्न लाग्यो भने उसले यसै गरी सोध्थ्यो ।
‘... मलाई लागेको कुरा हो ? हुन त तपाईँ पढेलेखेको मान्छे । ठिक नलाग्न पनि सक्छ । ...’
‘... कसले सोचेको थियो, यो देशमा दश दश वर्षसम्म माओवादीले युद्घ लड्न सक्छ भनेर ? कसले चिताएको थियो यहाँबाट राजतन्त्र समाप्त हुन्छ ? तर भयो त । ...’
‘... अहिलेसम्म मधेश बेग्लै देश बन्ला भनेर पनि कसैले चिताएको छैन । ... तर अवस्था यस्तै रहिरह्यो भने भोलि कसले के भन्न सक्छ ? हिजोसम्म कसैले सोच्नै सक्दैनथ्यो । अहिले कुरा गर्न थालेको छ । भोलि के होला, कसलाई के थाहा ?...’
खै किन हो ? तर ऊ यसो भनिरहँदा आत्तिएको थियो । सायद मसँग एउटा पृथकतावादी नेताको कुरा गरिरहेकाले हो या यसको भविष्यको कल्पनाले हो ? तर उसको कुराले मेरो मुटुमा एक प्रकारको ढ्याङ्ग्रो भने ठोेकेको थियो । के देश साँच्चै त्यतैतिर जाँदै थियो त ? हाम्रो देश र यसको भूराजनैतिक अवस्थाले बेग्लै मधेश सम्भव नै थिएन । तर देशलाई , खास गरी मधेशलाई अस्थिरताको भूमरीमा धकेल्नका लागि पर्याप्त थियो ।
उसको बुवाले नेपाली बुभ्mदैनथ्यो । हामी दुई जना गफ गर्न थालेपछि ऊ हिँडेको थियो । तर लगत्तै केही समयपछि नै रामचन्द्र आएको थियो । अझ धेरै बेर गफ गर्न मन थियो । तर खै किन हो, रामचन्द्रका अगाडि उसले खुलेर गफ गरेन । त्यस पछि म त्यहाँबाट हिँडेको थिएँ ।
...
त्यही भेट जितनसँगको अन्तिम भेट भएको थियो ।
कमलावाडीको चोकमा गोली हानिएको थियो उसलाई । खै कसको मलखाद लिएर आएको थियो ऊ ? कसैले थाहा पाएन । मल लिएर आउँदा एस.एस.बी.का जवानहरूसित विवाद भएको थियो उसको । जम्मा दुई जना थिए त्यहाँ । जसमध्ये एउटालाई मुक्काले हिर्काएर भागेको थियो ऊ । त्यस पछि कमला नदीको तिरैतिर आफ्नो गाउँ छिरेको थियो तर चोकमा उनीहरू पहिले नै आइसकेका थिए । उसलाई देख्नासाथ समातेका थिए र छातीमा दुई गोली हानेर उनीहरू हिँडेका थिए ।
यो घटना घट्दा हामी कार्यालय प्रमुखहरूको मिटिङमा थियौँ । सबैभन्दा पहिले एस.पी.को मोबाइलमा त्यसको खबर आएको थियो । उसले नै सि.डि.ओ.लाई जानकारी गराएको थियो । त्यसपछि हामीले थाहा पाएका थियौँ । छिमेकी देशको प्रहरी हातहतियार सहित देशभित्र छिरेर हत्या गर्नु आफैमा गम्भिर अवस्था थियो । त्यस दिन मिटिङ चाँडै सकियो, हामी घटनास्थलतर्फ लाग्यौँ ।
त्यस बेलासम्म पनि मैले मारिएको मान्छे जितन माझी होला भनेर कल्पनामा समेत चिताएको थिइनँ । सबैभन्दा पहिले उसको साइकल हेरेको थिएँ । त्यसबेला झसङ्ग भएको थिएँ अनि मात्र ख्याल गरेँ, आखिर माझीको घर पनि कमलावाडी नै हो भनेर । मानिसहरूको भिड थियो त्यहाँ । भिड चिरेर भित्र गएपछि आँखा उसको गम्छामाथि परेको थियो । अलि पर डोरीले बाँधिएको फित्तावाला चप्पल थियो । घोप्टिएको थियो उसको लास । अनुहार देखिएको थिएन तर मलाई चिन्न गाह«ो भएन । त्यो जितन माझीकै लास थियो ।
अलि पर तिन जना जोडसँग रोइरहेका थिए । त्यस मध्ये उसकी स्वास्नी पनि थिई । जो बेला बेला बेहोस पनि हु्न्थी । चारैतिर आइमाईहरूले घेरिएकी थिई । तिनीहरूले नै उसलाई सम्हालेका थिए । दुई जना सँगै रोइरहेका थिए । उसको बुवा र छोरा । छोराको आँखाबाट आँसु निरन्तर बगिरहेको थियो ।
‘मालिक पुरे दुनिया उजैड गेल हमर त ।’
मलाई देख्ने बित्तिकै उसको बुवा झन् जोडले रुन थाल्यो । त्यहाँ सि.डि.ओ. सँगै सबै प्रहरी प्रमुख र अरू धेरै कार्यालयका कार्यालय प्रमुखहरू पुगेका थियौँ । सबैले मतिर अनौठो गरी हेरे । खासमा भन्दा एउटा जिल्लाका निम्ति सम्पूर्ण राज्य उपस्थित थियौँ त्यहाँ । तर हाम्रो हैसियत के थियो ? बस्, एउटा निरीह जनताको हत्याको साक्षी । एउटा रिपोर्ट बनाएर पेस गर्ने भन्दा अरू केही गर्न सक्ने अवस्थामा थिएनौँ हामी ।
जितनको लासलाई पोस्टमार्टमको लागि उठाएर लान खोज्दा सबैले एकपटक कोलाहल गर्दै घेरेका थिए हामीलाई । त्यहीँका एउटा स्थानीय प्रहरीले सम्झाइबुझाइ गरेपछि उसको लास लगिएको थियो त्यहाँबाट । एक क्षण त लाग्यो, के त्यो जितनको मात्र लास हो ? कि त्यहाँ हामी पनि छाँै ? हाम्रो निरीहता ? मौनता ? अकर्मण्यता ? एउटा लास नभए अरू के हो त ? एउटा जिउँदो लास बनेर हामी पनि फर्किएका थियौँ ।
=====================================
कथा
ट्वान्टीवान
स्नेह सायमि
हिजो हरिले अचानक चुन्नेभैरव मार्ग अर्थात् चुन्नेपाखामा देख्यो ट्वान्टीवान । यहाँ बस्न आएको ७ बर्षपछि अचानक ट्वान्टीवानलाई देख्नासाथ हरिका बाल्यकालका घटनाहरू फिल्म झैँ आँखा अगाडि घुम्न थाले । हरिभन्दा केही महिनाले मात्र जेठो थियो ट्वान्टीवान । उनीहरू सडकमा, भूतघरमा, मकैबारीमा, केराउबारीमा, खोलामा, हात्तीपाइला दहमा, केदारको बाको आँगनमा, कहाँ कहाँ खेलेनन् सँगै ? कहाँ कहाँ चोरेनन् सँगै ? कहाँकहाँ माछा मारेनन् सँगै ? अहिले जस्तो मोबाइलको गेममा खेल्ने हो र ? पसिना छुटाएर आफै प्रमुख पक्षी विपक्षी भएर लाइभ खेल्ने हो जहाँ धेरै थोरै दर्शकहरू पनि हुन्थे ।
त्यतिबेला पनि गैरीगाउँमा एउटा अल्लारे केटाहरूको समूह थियो । जुन समूहमा उनीहरूभन्दा बलिया, पाका, अलि माथिल्लो कक्षामा पढेका केटाहरू थिए जो उनीहरूमाथि आदेश चलाउँथे । ट्वान्टीवान र हरि गैरीगाउँका त्यो समयका सबैभन्दा कान्छा, हुतिहारा, कमजोर र डरछेरुवा पात्रहरू थिए । हरि भन्दा ट्वान्टीवान छोटो कदको, गोरो गोलो गोलो अनुहार भएको, हिसी परेको केटो थियो । हरि पढाइ र शारीरिक रूपमा त्यति कमजोर त थिएन, समूहमा उसलाइ कमजोर बनाइदिने एक वचन थियो । सानैमा उससँग उसकी आमाले बाचाबन्धन गराएकी थिइन्– कहिल्यै झगडा नगर्नू, एक वचन आपूmले सहेर हारेर आउनू । यसैले हरि कुनै पनि विवादमा सहभागी नै हुँदैनथ्यो, भइहाले तापनि अन्याय सहन पहिल्यै मानसिक रूपमा तयार हुन्थ्यो । ऊ कमजोर हुतिहारा देखिन्थ्यो । आपूmभन्दा बलियाका कुरा मनदेखि चित्त नबुझे पनि आदेश पालना गरेर घर फर्कन्थ्यो ।
ध्रुवे समूहको नेता थियो– नाताले हरिको काका थियो । काका भनेरै सम्बोधन गर्न परेपछि साथी त भएन नै । बरु उसका आदेशहरू पालना गरिरहन पथ्र्यो । स्कुलबाट फर्केपछि घरमा किताब बिसाएर भूतघरमा हुर्र जम्मा हुनु र त्यहाँ आज माछा मार्न जाने कि बोसीगाउँ जाने, बाटो नजिकै खेतको बिचमा हुर्काइएको सानो केराउको बोटै समेत उखेलेर चोरेर ल्याउने कि बाढी आएकै भए पनि बल्खु खोलाको हात्तीपाइलामा डुबुल्की मार्न जाने कि बाटोमा कहिलेकाहीँ मात्र देखा पर्ने सानो गाडीलाई थर्काउने, यी सबै योजना ध्रुवेले बनाउँथ्यो ।
गाउँमा खानकै लागि कसैको समस्या थिएन । नगद हुँदैनथ्यो, अन्न र सागपात हुन्थ्यो । छिमेकमा साग बेच्ने चलन थिएन । बढी भए छरछिमेकमा बाँड्ने र गुन्द्रुक बनाउने चलन थियो । चाहे सासु, बुहारी वा छोरी जोसुकै होऊन् महिलाहरूले फुर्सत पाउँदैनथे । पँधेरामा पानी लिन जानु, भकारो सोहोर्नु, मल बोकेर खेतमा पु¥याउनु, धान कुट्न, गहुँ मकै पिँध्न जानु आदि काम महिलाहरूकै हुने गथ्र्यो । छोरीहरूले कहिलेकाहीँ घरको आँगनमा ससाना ढुङ्गाका गट्टा खेल्थे । छोराहरूले भने खेल्न र केही उपद्रो गर्न पनि छुट पाउँथे ।
ट्वान्टीवानले आफ्नी आमा चिन्ने मौका पाएन । सानैमा मृत्यु भयो । बाबु पनि ऊ आठ बर्षको हुँदा संसारबाट बिदा भए । ऊ हुक्र्यो काकाको घरमा । काकाकहाँ छानो पाएकै पनि ठुलो कुरो भयो । ऊ सानैमा हँसिलो, गोरो, सबैले भनेको मान्ने भएर हुक्र्यो । त्यही कुरा समूहमा पनि लागू भयो । कसैले पनि मन नपराएको काम उसले गथ्र्यो । जस्तै खोलामा सामूहिक दिसा बस्न जाँदा कोही आउँदैछ कि भनेर चारैतिर हेरेर सूचना दिने काम, नास्पातीको रुखमा चढेर टिपेर साथीहरू भएतिर फाल्ने काम । केराउको बोट उखेल्ने काम । जुन काममा बढी जोखिम थियो त्यो उसको भागमा पथ्र्यो । उसलाई कुन काममा बढी जोखिम छ भन्ने कुराको ख्याल र मतलब हुँदैनथ्यो र खुसीसाथ गथ्र्यो ।
ऊ र हरिको दोस्ती चल्थ्यो । धेरैको एक वा दुई जोरमात्र लुगा हुन्थ्यो । हरिको पनि जम्मा दुई जोर लुगा । ट्वान्टीवान त सँधै फाटेको कट्टु र भोटो लगाउँथ्यो । हरिले घरमा लगेर पोलेको मकै, मकै भटमास खाजा खुवाउँथ्यो । हरिकी आमाले ट्वान्टीवानलाई माया गर्थिन् । मैले दिएको भनेर कसैलाई नभन्नू है भनेर लगाउने लुगा दिन्थिन् । यी दुई हुतिहाराहरूका समस्या, स्वभाव र कुरा मिल्थे । तर एकाएक ट्वान्टीवान गैरीगाउँबाट हरायो । थाहा भयो, ऊ अन्तै अर्कै नातेदारको घरमा बस्ने गरी गयो रे । त्यसपछि सबैलाई मनोरञ्जन दिने हरिको प्रिय मित्र कहिल्यै भेट भएन । एकै पटक करिब चालिसबर्ष पछि ऊ चुन्नेपाखामा देखियो तर ट्वान्टीवानले चिने जस्तो सम्म पनि गरेन । हरिलाई त गल्र्याम्म अँगालो हाल्न मन लागेको थियो । तर सायद ऊ पुरानो सम्झनातिर फर्कन चाहेन । हरिले सम्झ्यो, कसरी ऊ ध्रुवबाट ट्वान्टीवान भयो । एकदिन सबै लहरै सडकछेउमा पिसाब गरिरहेका थिए । समूह नेता ध्रुवले कसले कतिखेर पिसाब फेरी सिध्याउँछ भनेर वान टु भनेर गनिरहेको थियो । उसले पिसाब फेरिसक्दा ट्वान्टीवान पुग्यो र त्यस दिनदेखि उसको नाम रहन गयो ट्वान्टीवान । अरूले चालै पाएनन्, आप्mनो नामसँग जुधेको कारणले उसको नाम फेर्न त्यो नाटक भएको रहेछ । अहिले हरिले झल्याक झुलुक देख्छ ट्वान्टीवान अर्थात ध्र्रुव प्रधान ।
+++
पुराना कुरा सम्झुन्जेल ट्वान्टीवान, बाल्यकालको टुहुरो साथी, खानेपानीको ट्याङ्कर चलाएर गयो । फेरि भेटिने आशाका साथ हरिले हतार हतार ट्याङ्कर– गाडीको नम्बर टिप्यो र हेरिरह्यो ।
========================================
कथा
सहिदगेटकी आमा
हरिहर खनाल
पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने र दृश्यावलोकन गर्ने बहानामा टहलिँदै हिँड्ने मानिसहरूको उपस्थितिले त्यस वरपरको वातावरणमा जीवन्ततालाई प्रदर्शन गरिरहेको थियो । निकै परतिर नदीको बीच भागतिर माछा समात्न तल्लीन मछुवारहरू तिनीहरूका ससाना डुङ्गाबाट जाल हानिरहेका देखिन्थे । त्यसरी नै अझ परतिर जलविहारमा रमाइरहेका पर्यटकहरूलाई बोकेर ससाना छत्तर भएका रङ्गीचङ्गी डुङ्गाहरू पानीको सतहमा सुलुत्त बग्दै बिस्तारै तैरिइरहेका देखिन्थे । नदीपारिको हरियो जङ्गल सघन रूपमा आँखाको विस्तारित दृष्टिभित्र नअटाउने आयतनमा फैलिएको देखिन्थ्यो ।
वारि, नदीको सतहभन्दा पाँच मिटरजति पूर्व, उत्तर र दक्षिणतिर फैलिएको कतै काँसघारी र कतै सिसौका ससाना बोटहरूले ढाकिएको विशाल मैदान र त्यसको पूर्वी किनारबाट उत्तर–दक्षिण दौडिएको प्रशस्त फराकिलो कालोपत्रे सडकको सतहमा दौडिइरहेका सार्वजनिक सवारी साधनहरू केही समयको अन्तरालमा लगातार आउने जाने क्रम चलिरहेको थियो । फुटपाथमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए । केही मानिसहरू साइकलमा समेत कुदिरहेको देख्न सकिन्थ्यो ।
मूल सडकको पश्चिम किनारमा फुटपाथसँगै ढुङ्गाको पर्खालले घेरिएको, पर्खालको माथिल्लो खण्डमा तारबार लगाइएको करिब डेढ हेक्टर क्षेत्रफलको एउटा सानो भूभाग थियो जसको बिचोबिचमा षट्कोण आकारमा जमिन सतहबाट एक मिटरजतिको उचाइमा सिङ्गमर्मर बिछ्याइएको लगभग १५ स्वायर मिटरको चौकोजस्तो एउटा उच्च भाग थियो जसको मध्यभागमा झण्डै ६ फिट अग्लो चारपाटे स्तम्भ थियो र त्यसका चारै पाटामा अनगिन्ती मानिसका नाम लेखिएका ग्रेनाइटका लाम्चो आकारका स्लेटहरू टाँसिएका थिए ।
उच्चस्थल तल जमिन सतहमा चारैतिर दुई मिटरजतिको भूभागमा मसिनले मिलाएर काटेका चिटिक्कका ससाना चारपाटे ढुङ्गाका छपनीहरू बिछ्याइएका थिए र त्यस समतलको सतहबाट पूर्व पश्चिम, उत्तर दक्षिण चारैतिर दुई फिट चौडाइका, त्यस्तै ढुङ्गा छापिएका ससाना सफा बाटा कम्पाउन्डको किनारसम्म पुगेर जमिनको त्यस क्षेत्रफललाई घेरेर लगाइएको पर्खाल नजिकैबाट त्यति नै चौडाइ भएको, पर्खालसँगै चारैतिर घुमेको ग्य्राभल बाटामा मिसिएका थिए ।
पार्कको बिच भागबाट बाहिर मूल सडकसँगै जोडिएको सहिदगेटमा निस्कने बाटो उत्तर, दक्षिण र पश्चिमतिर गएका फुटपाथभन्दा तुलनात्मक रूपमा केही फराकिलो थियो । बाहिर मूलगेटमा पुग्नैलाग्दा देब्रेतिर सानो एउटा प्रतीक्षालय देख्न सकिन्थ्यो । सहिदपार्क नामले सुपरिचित त्यस ठाउँमा बिहान बेलुकाका समयमा त्यस वरपरका बालबालिका, युवायुवती, वृद्धवृद्धासहित सबै उमेर समूहका मानिसहरूको पातलो उपस्थिति देख्न सकिन्थ्यो । खुट्टा तन्काउनका लागि त्यस ठाउँमा पुग्ने जो कोही पनि तिनै ससाना फुटपाथको बाटो बाहिरको घेरामा दुईचार फेरो लगाएर बाहिरिन्थे । फुटपाथ वरपरका खाली ठाउँँमा कतै कतै फाट्टफुट्ट रूपमा थरिथरिका पूmलका बोटबिरुवा पनि देखिन्थे, तर बिना गोडमेल र हेरचाहका ती बिरुवा कुपोषणले थलिएका बालकालिकाजस्तै शुष्क र निरस देखिन्थे ।
बिहान बेलुकी त्यसरी त्यहाँ घुम्न जाने मानिसहरूका बीचमा झन्डै ५५ वर्षकी एउटी महिला पनि देखिन्थिन् । अरू आगन्तुकहरूको कुनै नियमितता थिएन । मन लागे जाने, नलागे नजाने गर्थे कतिपय मानिसहरू तर ती महिलाको कुरा भने अलिकति फरक थियो । बाह्रैमास नित्य निरन्तर, हरेक साँझबिहान तिनी त्यहाँ पुग्थिन् र माटाको दियोमा तेल थप्थिन्, सलाई कोरेर बत्ती बाल्थिन्, वेदना र पीडाले थिलोथिलो भएको मुटु अँठ्याउँदै उठ्थिन् र सहिदस्तम्भको सिरानमा कँुदिएको उनको छोराको नाम लेखिएका अक्षरतिर हेरेर एकछिन टोलाउँथिन् । साउनमासको पानी पर्न थालेको आकाशजस्तो बोझिलो अनुहार बनाएर पछाडि फर्किन्थिन् अनि विस्तारै सिँढी ओर्लेर तल झर्थिन् र बाहिरको मूलगेटतिर लाग्थिन् ।
शरदऋतुको एक साँझ, एकजना २३÷२४ को युवक सहिदगेटमा पुगेपछि फुटपाथबाट देब्रेतिर मोडिएर सरासर पार्कभित्र पस्यो । दाहिनेतिर ससानो एउटा प्रतीक्षालय थियो । त्यस विश्रामस्थलमा ती महिला आफ्नै तन्मयतामा हराएर त्यहाँ एक्लै बसिरहेकी थिइन् । उसले तिनीतिर एक झलक हे¥यो र सरासर अगाडि बढ्यो । ऊ लमक लमक गर्दै पार्कको बिच भागसम्म पुग्यो र छपनी बिछ्याइएको सानो बाटो हुँदै अगाडि बढ्यो । सामान्यभन्दा अलिकति छिटो पाइला चाल्दै उसले त्यस पार्कको चारपाँच फेरो लगायो ।
अघिसम्म पारि डाँडाको चुचुरोमा भएको सूर्य पहाडबाट कोल्टे परेर पछाडितिर लुक्न लागिसकेको थियो र यतापट्टिको भागमा डाँडाको छाया खसिसकेको थियो ।
पार्क वरपर आधा घण्टाजति जगिङ गर्दै दौडेपछि अलिकति थाकेजस्तो भएको ऊ बाहिरतिर निस्कँदै गर्दा प्रतीक्षालय जस्तो त्यस विश्रामस्थलनेर पुगेपछि त्यसका गोडा त्यसै रोकिए । उसले देख्यो, प्रतीक्षालयमा बसिरहेकी ती महिला त्यति बेलासम्म पनि त्यहीँ नै थिइन् । दुःख, दर्द र अनन्त वेदनाको पहाडले थिचिए जस्तो लाग्ने तिनको अनुहार निकै क्लान्त देखिन्थ्यो । तिनको काँधमा एउटा पुरानु भइसकेको रातो रङको नेपाली घरेलु तानमा बुनेको झोला झुन्डिइरहेको थियो । ऊ भित्र पस्ता जुन ठाउँमा जसरी बसिरहेकी थिइन् तिनी त्यति बेलासम्म पनि त्यही ठाउँमा त्यसरी नै बसिरहेको देखेपछि त्यसका मनमा ती महिलाबारे अनेक जिज्ञासा उत्पन्न भए । नजिकै पुगेपछि त्यस युवकलाई त्यत्तिकै कुरा नगरिकन, एक शब्द पनि नबोलिकन बाहिर जान मन लागेन । त्यसपछि ऊ प्रतीक्षालयका खुट्किला चढेर माथि उक्ल्यो र दक्षिणतिरको छेउको आसनमा बस्यो । तिनी मानाँै उसको आगमनले समेत कुनै प्रकारको असर नगरेसरि पूर्ववत् चुपचाप निःशब्द कुनै विचारमा डुबेर बसिरहेकी जस्ती देखिन्थिन् । युवकका मनमा तिनका विषयमा जान्ने अलिकति जिज्ञासा पलाएर आयो । उसले देख्यो, यति बेला उनी काँधको झोलालाई काखमा च्यापेर बसिरहेकी थिइन् । मानिसहरू पार्कतिर आउने क्रम लगभग रोकिएको थियो । ती सबै कुरामा उनको कुनै ध्यान थिएन । असहायजस्तै लाग्ने ती वृद्धाको अवस्था देखेर उसको मन कुँडियो । उसका मनमा विविध प्रकारका अनगिन्ती प्रश्नहरू उठे ।
“साँझ परिसक्यो, यति बेलासम्म किन एक्लै यहाँ बसिरहनुभएको आमा ?” उनीतिर हेर्दै उसले सोध्यो । सुरुमा उनले कुनै जवाफ फर्काइनन् । आँखा अलिकति उठाएर ऊतिर केवल हेरिन् मात्र ।
“बिरामी हुनुहुन्छ आमा ?” पहिलो प्रश्नको उत्तर नपाएपछि उसले पुनः सोध्यो । उसको दोहोरिएको प्रश्नले थोरै मात्रामा उनको ध्यान ऊतिर खिचिए जस्तो महसुस ग¥यो उसले । त्यसपछि उनले सुस्तरी यसो भनेको सुन्यो ः
“सन्चै छु बाबु, काल आएन, यसै मर्न सकिनँ । बाँच्ने चाल पनि छैन । अरू खै के भनूँ बाबु ?” तिनको कपाल खजमजिएको थियो र अनुहार निकै मलिन देखिन्थ्यो । ऊतिर हेर्दाहेर्दै तिनका आँखा रसाए । उनले लुगाका फेरले आँसु पुछिन् ।
“नरुनुस् आमा, रोएर दुःख जाँदैन ।” उसले भन्यो । तिनी निकै बेरसम्म गम्भीर मुद्रामा बसेको देखेर युवकका मनमा अनेक प्रकारका तर्कना चल्न थाले । तर धेरै कुरा गरेर उनको मन दुखाउन चाहेन उसले ।
“आमा, साँझ पर्न थाल्यो, हिँड्नोस्, म तपाईँलाई तपाईँको घरसम्म पु¥याइदिन्छु ।” युवकले उनको अनुहारतिर हेरेर यसो भन्यो ।
तर उनले त्यसको कुनै प्रतिक्रिया दिइनन् । बरू तिनले मलिन स्वरमा भनिन् ः– “बाबु, तिमी को हौ ? तिमी जो भए पनि मैले तिम्रो अनुहारमा मेरो छोराको मुहार प्रतिविम्बित भएको देखेँ बाबु !”
उनको भनाइ सुनेर युवकको मन एकदम स्तव्ध भयो । “तपार्इँका छोरा कहाँ हुनुहुन्छ र आमा ?” त्यसले विनम्र स्वरमा भन्यो ।
“छैन बाबु त्यो । दैवले चुँडेर लग्यो उसलाई ।” उनले यति भनेपछि उसको पूरै जिउ बिलकुलै शीताङ्ग भयो ।
“कहिले ? कसरी आमा ?” अलिकति विह्वल स्वरमा उसले सोध्यो ।
“भयो बाबु, पाँच वर्षजति । हराम न बिराम, राजाका सेनाले त्यसको प्राण हरे । देश युद्धमा फसेको समयमा तिनीहरूले मेरो मुटुको टुक्रा चुँडेर लगे बाबु । युद्ध सकियो, त्यसपछि नेताहरूले यहाँ ल्याएर थन्क्याए उसलाई ।” तिनको कुरा सुनेर युवक एकदम स्तब्ध भयो । तिनले फेरि थपिन्, “मर्ने चोला हो । एकचोटि सबै मर्नुपर्छ । तर तिनीहरूले मेरो छोरालाई अकालमै मारे । मेरो छोरालाई मारेर के पाए तिनीहरूले ? मेरो छोराजस्ता हजारौँ युवा युवतीलाई मारेर के उपलव्धि हासिल ग¥यो सरकारले ? मेरो छोराको बलिदानले के पायो देशले ? मेरा खसमको समर्पणले कहाँ के भयो दुनियाँदारका लागि ?” यस्तो लाग्थ्यो, तिनको हृदयको अतल गहिराइबाट प्रश्नहरूको मूल फुटिरहेको छ, तर ती सबै प्रश्नहरू अनुत्तरित छन् । युवक त्यो सबै सुनेर स्तव्ध भयो । के गर्ने होला भन्ने कुनै उपाय सुझेन त्यसलाई । त्यसको अनुहार झन् गम्भीर देखियो ।
“बुबा पनि हुनुहुन्न ?” युवकको प्रश्न सुनेपछि तिनले अलिकति धैर्यधारण गरेर भनिन् ः “हो बाबु, मेरा खसम पनि उही बाटो लाग्नुभयो । जनताको सेवा गर्छु, जनताकै लागि मर्छु भन्नुहुन्थ्यो, त्यस्तै हुनगयो ।”
“कसरी त्यस्तो हुन गयो आमा ?” किंकर्तव्यविमूढ त्यस युवकले ती वृद्धाको अनुहारतिर हेरेर भन्यो ।
“छोराको बीभत्स हत्या ग¥यो सेनाले । उसको अवसानपछि हामी दुबै निकै लामो समयसम्म एकदम असहायजस्ता, एक प्रकारले भन्दा विक्षिप्त नै भयौँ । धेरै मानिसहरूले हामीलाई आतङ्ककारी करार गरे र हामीसित बोल्न समेत छोडे । पार्टीका एकाध मानिसहरू कहिलेकाहीँ लुकिछिपी हामीकहाँ आउँथे र हामी छौँ, नरुनुस् भन्थे । तर त्यो त केवल सान्त्वना दिने प्रयत्न मात्र रहेछ । हाम्रो छोराको ठाउँ लिन त कसैले पनि सक्ने थिएन । सक्ने कुरा पनि भएन ।” तिनी एकछिन रोकिइन् र सोचमग्न भइन् । त्यसपछि पुनः उनले भनिन् ः “धेरै धैर्यवान र स्वाभिमानी हुनुहुन्थ्यो मेरा खसम । भन्नुहुन्थ्यो– ‘पीर नगर । के गर्ने त ? यस्तै हो हाम्रो जीवन । हाम्रो छोराको रगत देश र शोषित पीडित जनताको मुक्तिको खातिर बगेको हो । त्यो त्यसै खेर जाने छैन । एक दिन मुक्तिको बिहानी पनि देख्न पाउने छौँ हामीले । उसको बलिदानले तिम्रो कोख महान् हुन पुग्यो । तिमी देश र जनताका लागि आफ्नो प्राण आहुति दिने महान् वीरकी जननी हौ । तिमी महान् छौ ।’ छोरालाई सम्झेर कहिलेकाहीँ म आपूmलाई समाल्नै नसकेर बेसरी रुन्थेँ । त्यति बेला मलाई सम्झाउँदै उहाँ यसो भन्नुहुन्थ्यो मलाई । उहाँका कुरा सुनेपछि म बिस्तारै चित्त बुझाउँथेँ र आफैलाई समाल्थेँ । तर दैवको लीला बुझिनसक्नु रहेछ बाबु । एक दिन उहाँ पनि जानुभयो मलाई यो दुःखैदःुखले भरिएको संसारमा एक्लै छाडेर ।” उनी यति भनेर रोकिइन् । युवक एकछिनसम्म केही बोल्न सकेन । झमक्क साँझ परिसकेको थियो । वृद्धा उठिन् र झोला काँधमा भिरिन् ।
“आमा, झोला म बोकिदिन्छु, दिनुस् मलाई ।” युवकले आदरपूर्वक भन्यो ।
“भयो बाबु, पर्दैन । तिम्रो सदाशयताका लागि धन्यवाद । यो मेरा खसमको नासो हो । म आफैँ बोक्छु ।” सिँढीबाट तल झर्दै उनले भनिन् ।
“कस्तो नासो आमा ?” जिज्ञासावश उसले सोध्यो ।
“यसमा उहाँका अप्रकाशित कृतिहरू छन् ।” उनले छोटो उत्तर दिइन् ।
“के तपार्इंका श्रीमान् लेखक हुनुहुन्थ्यो ?” युवकले अलिकति सहज हुने प्रयत्न गर्दै सोध्यो ।
“हो बाबु । उहाँले लेखेका केही कृतिहरू प्रकाशित भइसकेका छन्, तर अप्रकाशित कृतिहरू पनि सबै कति छन् त्यो मलाई राम्ररी थाहा छैन । उहाँ बितेपछि खोजी गर्दा मैले जे जति पाण्डुलिपि भेटेँ, ती यिनै हुन् । तिनलाई मैले यहीँ राखेकी छु ।
“अनि ती कृतिहरू प्रकाशित गर्न कसैले चाख देखाएनन् ?” युवकले जिज्ञासा राख्यो ।
“इच्छा भएको भए सक्ता हुनन् बाबु । उतिबेला पार्टीका तर्फबाट श्रद्धाञ्जली दिनका लागि उहाँको पार्थिव शरीर पार्टी कार्यालयको प्राङ्गणमा राखेर त्यसमाथि पार्टीको झण्डा ओढाएर फूलमाला र अबिरले पुरेपछि मलिन तर गम्भीर स्वरमा नेताहरूले गरेका भाषण मेरा कानमा अझै पनि गुन्जिरहेका छन् । उहाँको बलिदानको प्रशंसामा भाषण गर्दै उनीहरूले भनेका थिए, “हामी उहाँको बलिदानलाई यसै खेर जान दिने छैनौं । उहाँका अप्रकाशित सबै कृतिहरू प्रकाशित गरेर जनजनका दैलामा पु¥याउने व्यवस्था मिलाउने छौँ ।” पार्टीका सबै ठुला नेताहरूले यसै भनेर कसम खाएका थिए । त्यसपछि पनि पूर्वबाट घाम उदाउने र पश्चिमको आकाशमुनि लुकेर अस्ताउने काम निरन्तर भइरह्यो । त्यस बाहेक अरू केही भएन बाबु । आम जनताको दुःख हिजो जेजस्तो थियो आज पनि उस्तै छ । नेताहरू एक आपसमा आरोप प्रत्यारोप लगाएर आपूmमात्र सही छु भन्ने देखाउन तल्लीनतापूर्वक लागिरहेका छन् । त्यस बाहेक केही हुन सकेन बाबु ।” यति भनेर वृद्धा चुप लागिन् ।
“अनि यो झोला सँगै बोकेर किन हिँड्नुहुन्छ आमा ?” छुट्टिने बेलामा युवकले थप एउटा जिज्ञासा राख्यो ।
“उहाँका कृतिका पाण्डुलिपि बोकेर हिँड्दा म सधैँ उहाँ सँगसँँगै हिँडिरहेको आभास हुन्छ बाबु मलाई । सुरुसुरुमा असजिलो लागे पनि अब त बानी प¥यो मलाई । यो झोला मेरो साथीजस्तै भएको छ यति बेला ।” उनले यसो भनेर उत्तर दिइन् ।
मूल सडकको पेटीबाट हिँडिरहेका ती दुई जना निकै पर पुगेपछि महिला उत्तरतिर लागिन्, युवक भने पूर्वको बाटो समातेर लगातार अघि बढ्दै गयो । त्यति बेलासम्म सडक किनारका सोलार बत्तीबाट निस्केको प्रकाशले अँध्यारोको कालो पर्दा चिर्दै यत्रतत्र सर्वत्र उज्यालो प्रकाश बर्साइरहेको थियो ।
No comments:
Post a Comment